काठमाडौं । सरकारले १६ गतेबाट १५ दिनका लागि निषेधाज्ञा जारी गरेसँगै काठमाडौंका होटलमा रहेका ग्राहकहरु धमाधम आफ्नो मुलुक फर्कन लागेका छन् । निषेधाज्ञा लम्बिन सक्ने र कोरोनाको जोखिम पनि बढिरहेको भन्दै होटलमा बसेका ग्राहक चेक आउट गर्न थालेका छन्, भने नयाँ ग्राहक शुन्यमा झरेका छन् ।
म्यारियट होटलका सञ्चालक शशिकान्त अग्रवालले निषेधाज्ञा जारी भएसँगै होटलबाट चेक आउट गर्ने बढेको बताए । ‘निषेधाज्ञाको त्रासले उनीहरु धमाधम होटल छाड्न थालेका छन्,’ उनले भने, ‘होटलमा चेक इन गर्ने शुन्यमा झरेका छन् भने आउट हुनेको संख्या बढ्दै गइरहेको छ । अहिले होटलको सम्पूर्ण रुम खाली भइसकेका छन् ।’
होटल साङ्ग्रिलाका प्रवन्ध निर्देशक प्रवीण पाण्डेले निषेधाज्ञा जारी भएसँगै भएका पाहुनाहरु धमाधम आफ्नो मुलुक फर्किन लागेको बताए । कोभिडकै बीचमा लकडाउन (बन्दाबन्दी)पछि केही पाहुनाहरु आउने क्रम बढिरहेको बेला फेरि दोस्रो चरणको भेरिएन्टनको संक्रमण फैलिएसँगै यहाँ आएका पाहुनाहरु आफ्नै मुलुकमा फर्किने क्रम सुरु भएको बताए ।
होटल र्याडिसनका जोइन म्यानेजिङ डाइरेक्टर विद्याता श्रेष्ठले अन्तर्राष्ट्रिय उडानहरु सञ्चालनमै रहने सूचना जारी भइरहँदासमेत बाहिर घुम्न जान नपाउने र निषेधाज्ञाको अवधि लम्बिन सक्ने भन्दै होटल छोडेर जानेको संख्या बढेको बताइन् । होटलमा बस्ने सबैभन्दा बढी ग्राहकहरु भारतीय रहेको र उनीहरु पनि आफ्नै मुलुकमा फर्किन लागेको उनको भनाइ छ ।
एयरपोर्ट होटलका सञ्चालक विनायक शाहले संक्रमणदर बढ्दै गएको र निषेधाज्ञा जारी भएपछि धेरै ग्राहकहरुले होटल छोडिरहेको बताए । संक्रमणको संख्या कम भएपछि केही पर्यटकहरु नेपालमा आएका थिए । तर, पछिल्लो समय संक्रमितको संख्या तीब्र बढेको र उपचारको व्यवस्था सन्तोषजनक नभएको भन्दै आफ्नो बसाई नै छोट्याएर फर्किनेको संख्या बढेको उनले बताए ।
होटल क्राउन प्लाजाका प्रवन्ध निर्देशक युवराज श्रेष्ठले सरकारले जारी गरेको निषेधाज्ञाका कारण ग्राहकहरुले दिएको एड्भान्स रकमसमेत फिर्ता दिएर पठाउनु परेको बताए । सरकारले १५ दिनका लागि निषेधाज्ञा जारी गरे पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान भने यथावत नै राखेको छ । तर, सार्वजनिक यातायात र निजी सवारी साधनलाई भने रोक लगाएको छ ।