नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५० प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी घटेपनि खुद फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.०९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३५ करोडबाट बढेर १ अर्ब ५ करोड पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १६.३७ प्रतिशत बढेको छ।
चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ पुगेको छ।
खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ ३४ पैसा घटेर ३६ रुपैयाँ ४० पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३७.९१ गुणा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी ३३.५० प्रतिशत बढेको छ भने जगेडा कोष ११.२२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ९.१९ प्रतिशत र कर्जा २५.७६ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.१५ प्रतिशतविन्दु घटेर ०.४८ प्रतिशतमा झरेको छ।