नेपाल राष्ट्र बैंकले कोभिड १९ को असर न्युनीकरणको लागि लिएका नीतिहरुलाई अझै निरन्तरता दिने जनाएकाे छ। केन्द्रिय बैंकको वार्षिकोत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर–परम्परागत, लचिलो एवम् सहजीकरण सहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्य माथि थप जोखिम सृजना नहुने गरी निरन्तरता प्रदान गर्ने बताएका छन्।
कोभिड १९ को संक्रमणका बीच नेपाल राष्ट्र बैंकले जारी गरेको आ.व. २०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भईरहेको उनले बताए।
उनले समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधार क्षेत्र,साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित गरी आर्थिक पुनरुत्थानको लागि सहयोग गर्न, वित्तीय उपकरण एवम् पूर्वाधारहरूको समय सापेक्ष विकास गर्न, विद्युतीय भुक्तानी माध्यममार्फत कारोबारहरूलाई प्रवद्र्घन गर्न र वित्तीय समावेशिता तथा वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए।
कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य संकट अझै गहिरिंदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको समेत उनले बताए।
मुलुकभित्र उत्पन्न हुनसक्ने मानवीय तथा आर्थिक संकटको संयमतापूर्वक उचित व्यवस्थापन सहित आर्थिक क्रियाकलापको चुस्त सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरूले गर्दा अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको भएपनि कोभिड १९ अझै रहेकोले जोखिम भने कायमै रहेको उनले बताए।