काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीब्र गतिमा फैलिँदै छ । केन्द्र सरकारले लकडाउनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । स्थानीय सरकारले पनि आफ्नो क्षेत्रमा कोरोनको संक्रमण दर हेरेर निषेधाज्ञा÷लकडाउनको घोषणा गर्न थालेका छन् ।
बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यका १५ दिनका लागि निषेधाज्ञा घोषणा भइसकेको छ । सामान्यतयः ठूला सहरमा सक्रिय संक्रमित ५ सय र साना सहरमा सक्रिय संक्रमित २ सय भएपछि लकडाउन गर्न सरकारको निर्देशन छ ।
प्रत्येक मान्छेले सेनिटाइजर र मास्कको अनिवार्य प्रयोग तथा भौतिक दूरी कायम गर्न सरकार तथा चिकित्सकले आग्रह गरेका छन् । यो आग्रह उपत्यकामा पूर्णरुपमा कार्यान्वयन भएको देखिदैन । २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन निर्देशन दिएको सरकार आफैं विभिन्न छलफल तथा कार्यक्रममा सयौं मान्छेलाई भीड गराएर कार्यक्रम गरिरहेको छ ।
जनताको पनि अवस्था उस्तै छ । किराना, मासु, तरकारी तथा फलफूल पसल, टिकट काउन्टरलगायत क्षेत्रमा हेर्ने हो भने कोरोनाको संक्रमण बढेको होइन भर्खर दसैं सुरु भए जस्तै लाग्छ ।
सोमबार बिहान कोटेश्वरमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, उदयपुर, खोटाङलगायत ठाउँमा जाने बसको लाइन थियो । टिकट काउन्टरका मान्छे तथा बसका मालिक टिकट काट्न र सह–चालकहरु यात्रुको व्यवस्थापनमा गर्नमा व्यस्त देखिन्थ्ये । उनीहरुले मास्क त लगाएका थिए । तर, घरी चिउडोमा राख्थे भने घरी नाक मुख छोपेर लगाउँथ्ये ।
काठमाडौं–रामेछाप चल्ने कुशेश्वर प्रालि (कोटेश्वर) का इन्चार्ज आकाश लामा स्कुल÷कलेज बन्द भएपछि गाउँ फर्किनेको संख्या अत्यधिक बढेको बताउँछन् । लामा भन्छन् ‘पहाडी क्षेत्रमा करिब २ सयभन्दा बढी संख्यामा दैनिक गाडी गइरहेका छन् र ती सबै गाडीमा यात्रु संख्या दसैंको जस्तै छ । सहरका मान्छे गाउँमा गएपछि कोरोनाको जोखि धेरै बढेको छ ।’
स्कुल/कलेज बन्द तथा लकडाउनको हल्लाले अहिले यात्रुको संख्या बढेको उनको भनाइ छ । फुटपातमा व्यापार गर्न बसेकाहरुको अवस्था पनि उस्तै छ । कोटेश्वरको फुटपातमा व्यापार गरेका अधिकांशले अरुलाई कोरोना संक्रमणबाट बच्नका लागि मास्क बेचिरहेका थिए । तर, उनीहरु आफैं भने मास्को प्रयोगमा बेखबर जस्तै देखिन्छन् ।
बसका चालक, सह–चालकले जस्तै व्यापारी पनि घरी चिउडोमा त घरी हातमा मास्क बोक्ने गर्छन् । नगर प्रहरी आएर फुटपातमा बसी व्यापार गरेको भन्दै हटाउन लगाउँछ तर, मास्क लाए/नलगाएको विषयमा वास्ता गर्दैन । ट्राफिक प्रहरीले पनि बसका यात्रुले मास्क नलगाएको भेटिएमा चालकलाई जरिवाना तिर्न लाउँछन् । तर, फुटपातमा उभिएका र व्यापार गरेकालाई चासो दिएको देखिँदैन ।
काठमाडौंका विभिन्न ठाउँमा २० वर्षदेखि व्यापार गर्दै आएकी रत्नमाया अधिकारी अहिले कोटेश्वरमा चाउचाउ, पानी, फ्रुटी, चक्लेटलगायतका खानेकुरा नाङ्लोमा राखेर व्यापार गर्छिन् । बिहान खाना खाएर व्यापार गर्न आउने बताउने उनको न मुखमा मास्क थियो न त नाङ्लाको पसलमा । उनले पहिलेको लकडाउनमा पनि मास्क नलगाइ बसेको बताइन् ।
अहिले पनि लगाउँदिनन् । उनले भनिन्, ‘उसै पनि म मास्क लाउँदिन, अहिले त गर्मी छ । पुलिसले करायो भने टाउकोमा लगाएको टोपीले मुख छोप्छु, कपाल र मुखमा धुलो हुँदैन ।’ अधिकारीलाई कोरेना मान्छेलाई तर्साउन बनाएको रोग मात्रै हो भन्ने लाग्छ ।
पहिला लकडाउन हुँदा राहातको नाममा ३ किलो चामल भन्दा पाइनन् । अब लकडाउन भयो भने पनि व्यापार गर्न नछोड्ने उनले बताइन् ।
गौशालामा विराटनगरको टिकट काट्दै गरेका नवराज शाहा ठकुरीको अनुभव पनि उस्तै छ । उनी भन्छन् ‘कोरोनाको कारण भन्दै स्कुल÷कलेज बन्द गर्ने सरकार गाडीमा सामाजिक दूरीको कुरा नै गर्दैन । हामीलाई भाडाको व्यवस्थापन गरेर सिट क्षमताको आदि संख्यामा मात्रै यात्रु बोक्नु भने त्यो नियम मान्न तयार छौं । तर, अहिलेको भाडामा भने आदी यात्रु बोक्न सकिँदैन ।’
त्यस्तै जोरपाटिको ‘विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजार’ को ५३, ५४ र ५६ नम्बरको पसलकी व्यापारी गायत्री कुरमारी शाहा सोमबार साँझ मास्क नलगाइ व्यापार गर्दै थिइन् । व्यापार गर्दा मास्कले अप्ठयारो हुने भएको कारण नलगाएको उनले बताइन् ।
त्यसो त शाहामात्रै होइन अर्का व्यापारी संगम भट्टराईको मुखमा पनि मास्क थिएन । भट्टराई भन्छन्, ‘कति मास्क लाउनु ? बोकेर ल्याएको छु पुलिस आएको बेला लाउँछु, नभए लाउँदिन । कोरोनादेखि डर लाग्नै छोड्यो ।’
व्यापारीहरुका अनुसार विश्रान्ति तरकारी तथा फलफूल बजारमा बिहानको समयमा मात्रै पुलिसले अनुगमन गर्छ । तरकारी बजारमा साँझको समय ५० प्रतिशतले मात्रै मास्कको प्रयोग गरेको देखिन्छ ।