काठमाडौं । कोरोनाको दोस्रो लहरका कारण सार्वजनिक यातायात ठप्प बनाउने तर, हवाईसेवा सञ्चालन गर्ने सरकारको निर्णय विभेदकारी भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
महासंघका महासचिव सरोज सिटौलाले कोरोना भाइरसको संक्रमण जुनसुकै माध्यमबाट सर्ने भएका कारण सार्वजनिक यातायात बन्द गरेर हवाईसेवा सञ्चालन गर्ने सरकारको निर्णय विभेदकारी रहेको बताएका हुन् ।
क्यापिटल नेपालसँग कुरा गर्दै महासचिव सिटौलाले भने ‘उड्ने र गुड्नेलाई दुईवटा फरक नियम लगाउनु भएन । सरकार सबैको अभिभावक हो । त्यसैले सबैलाई समान व्यवहार र सहकार्य गर्नुपर्छ ।’ प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई महासंघले उक्त निर्णयमा पुनर्विचार गर्न सुझावसमेत दिइसकेको छ । विभिन्न कार्यालयले सुझाव सकारात्मक भएकाले मनन गर्ने प्रतिक्रिया दिएको महासचिव सिटौलाले बताए ।
उनका अनुसार हवाई माध्यमले पहिलाको तुलनामा डबल, त्रिपल भाडा लिएका छन् । तर, पहिलो लकडाउनकै मारमा परेको सार्वजनिक यातायातलाई सरकारको सो निर्णयले फेरि मार परेको छ । महासचिव सिटौला भन्छन्, ‘हवाई क्षेत्र सञ्चालनमा रहेर सार्वजनिक यातायात बन्द भयो भने, प्राइभेट सवारीसाधनले बढी भाडा लिएर यात्रु ओसार्छन् । सरकारले थुनेर सक्दैन ।’
यातायात व्यवस्था विभागले भने उक्त विषय सरकार तथा मन्त्रिपरिषद्बबाट निर्णय भएकाले विभागको कुनै प्रतिक्रिया नरहेको बताएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसाल भन्छन्, ‘सकारको निर्णयमा चित्त नबुझे माथिल्लो निकायमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कुरा गर्नुपर्ने हुन्छ ।'
महासचिव सिटौलाले टिकट काउन्टर तथा बस चालकहरुलाई सरकारबाट निर्णय नभइ बिहीबारको टिकट नकाट्न आग्रहसमेत गरेका छन् ।