काठमाडौं । सरकारले १६ गतेबाट १५ दिनका लागि निषेधाज्ञा गर्ने निर्णयगरेसँगै घर फर्कनेहरुको यात्रुको चाप आन्तरिक उडानमा बढेको छ । यात्रुको चाप बढेसँगै हवाई भाडा बढाउनुको साथै उडान संख्या समेत थपेको छ ।
सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै उपत्यकाको तीन जिल्लामा निषेधाज्ञाको घोषणा गरेको हो । सरकारी निर्णयसँगै उपत्यका छोड्ने र उपत्यकामा भित्रिनेको संख्या बढेसँगै उडान थप गरेको एयरलाइन्सहरुले जनाएका छन् ।
बुद्ध एयरलाइन्सका कम्यूनिकेशन अफिसर दिपेन्द्र कर्णले अन्य दिनको भन्दा आज र भोलि (मंगलबार र बुधबार) उडानको संख्या ह्वात्तै बढेको बताए । मंगलबार मात्र १५० वटा भन्दा बढी उडान गरी ७ हजार भन्दा बढी यात्रु बुद्धले बोक्ने उनले बताए । यस अघि बुद्धले एक सय वटा उडानमार्फत दैनिक ५ हजार यात्रुहरु बोकिरहेको थियो ।
उडानको अत्यधिक माग हुन थाले पछि श्री एयरलाइन्सले पनि आफ्नो उडान दोब्बर बनाएको छ । श्रीले ३० देखि ४० वटा उडान भर्दै आएको छ ।
यात्रुको चाप अत्यधिक बढेकाले उडान पनि बढाइएको श्री एयरलाइन्सका प्रवक्ता अनील मानन्धरले जानकारी दिए । यति थप उडानको माग भएको अवस्थमा पनि श्री एयरलाइन्स तयार रहेको उनको भनाइ छ ।
यति एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले अन्य दिनको तुलनामा आज र भोलि यात्रुको चाप धेरै रहेको बताए । यतिले दैनिक ६८ वटा उडान गरी ३७ सय जना यात्रुहरु उडान गर्ने गरी उडान भइरहेको जानकारी दिए । यतिले अन्य दिन ५० देखि ६० उडानबाट ३ हजार जना यात्रु ओसार पसार गरिरहेको थियो ।
उडानको चाप बढेसँगै भाडा केही बढेको उनको भनाई छ । उपत्यका छोड्नेहरु धेरै रहेको र काठमाडौं भित्रिनेको संख्यामा भने केही कमी रहेको उनले बताए ।
अन्य कम्पनीले उडान धमाधाम थप गरिरहँदा सौर्यको उडान संख्यामा खासै वृद्धि भएको छैन । सौर्य एयरलाइन्सका मार्केटिङ चिफ मुकेश खनालले दुई दिन सबै उडानहरु भरिभराउ रहेको बताए । दैनिक ४ वटा उडान मार्फत ४ सय यात्रुहरु आवातजावत गराउन लागिएको उनको भनाई छ ।
फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कार्कीले दुर्गममा जाने यात्रुहरुको संख्या भने कम रहेको बताए । कतिपय यात्रुहरु यस अघिनै घर गइसकेको र केही यात्रुहरु मात्र बाँकी रहेकोले सुगमको जस्तो चाप नभएको उनको भनाई छ ।
हवाई उडानमा यात्रुको चाप बढेसँगै भाडा समेत बढाएका छन् । अन्य बेलाको तुलानामा अहिले एयरलाइन्सहरुले भाडा बढाए पनि टिकट पाउनै मुस्किल रहेको बताइएको छ । कोभिडकै बीचमा एयरलाइन्सहरुले प्रतिस्पर्धाका लागि हवाई भाडा घटाएका थिए । पोखराको ५ हजार २ सय रुपैयाँ तय गरिएको भाडालाई एयरलाइन्सहरुले १ हजार ५ सयसम्ममा उडान गरेका थिए । तर, अहिले त्यहि भाडा बढाएका छन् ।