काठमाडौं । सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिसम्ममा बैंकले २ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.१२ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी घटे पनि अन्य सञ्चालन आम्दानी बढेको र निष्क्रिय कर्जा घटेका कारण खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०३ प्रतिशत घटेको छ। तर, सो अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी १९.८२ प्रतिशत र सञ्चालन मुनाफा ५०.७५ प्रतिशत बढेको छ।
बैंकको चैत मसान्तसम्ममा वितरण योग्य मुनाफा ८३ करोड १४ लाख रुपैयाँ पुगेको छ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ३७ पैसा बढेर २५ रुपैयाँ २८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ८९ पैसा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पुँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ४४.२५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २३.४२ प्रतिशत र कर्जा २३.८६ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा १.३६ प्रतिशतविन्दु घटेर ०.८८ प्रतिशतमा झरेको छ।