पोखरा । पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगर र पर्यटन व्यवसायीबीच छलफल भएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको नेतृत्वमा संघमा आबद्ध संघ-संस्थाका प्रतिनिधि सहितको टोली र महानगरका प्रमुख मानबहादुर जिसीबीच कोभिड-१९ को समस्या र पोखराको पर्यटनको विषयमा छलफल भएको हो ।
कोभिड-१९ को महामारी यथावत रहेको अवस्थामा पर्यटन व्यवसायीले भोग्नु परेका समस्यालगायत पर्यटनको दिगो विकासमा आगामी योजनाका बारेमा छलफल भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
‘अहिले निकै कठिन अवस्थामा पर्यटन व्यवसायी छन्, स्थानीय सरकार व्यवसायी मैत्री हुन् जरुरी छ, सँगसँगै पोखराको पर्यटनमा नविनतम सोचसहितका पूर्वाधार अबको खाँचो हो, यही विषयमा छलफलमा जुटेका हो,’ भट्टराइले महानगर प्रमुखलाई पोखराको दिगो विकासका लागि २५ बुँदे सुझावसहित ध्यानाकर्षण समेत गराएको बताए ।
‘हामी महानगरको पर्यटन विकासमा सहकार्य र समन्वय गरेर अघि बढ्न तयार छौं, महानगरले अग्रसरता लिएर अघि बढ्नुपर्छ’ भट्टराईले भने ।
महानगर प्रमुख मानबहादुर जिसीले पोखराको पर्यटन विकासका लागि आफू सधैं सकारात्मक रहेको र नतिजामुखी कामका लागि प्रतिबद्ध भएको बताए । ‘पोखरा हामी सबैको हो, यसको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा महानगर जुटिरहेको छ, कहि कतै आँखा नपुगेको हुनसक्छ सकारात्मक सुझावको अपेक्षा गरेका छौं,’ उनले भने ।
विकासमा साझेदारी र सकारात्मक चिन्तनको आवश्यकता हुन्छ, हामी सबैको चाहना पोखरालाई समृद्ध बनाउने हो,’ प्रमुख जिसीले भने पर्यटन व्यवसायीसँग सहकार्य र समन्वय गरेर अघि बढ्न तयार रहेका छौं ।
परिषदका महासचिव रामचन्द्र शर्माले पर्यटन क्षेत्रमा देखिएका समस्यासहित फेवातालको सौन्र्दयकरण र दिगो पर्यटन विकासका लागि देखिएका समस्यासहित महानगरले पहल गर्न सक्ने विषयमा छलफल भएको बताए ।
उनका अनुसार विशेषगरी फोहोर व्यवस्थापन, फेवा किनारको हिमागृह र रत्नमन्दिरलाई ऐतिहासिक,पुरातातित्क पर्यटकीय सम्पदाको रुपमा विकास गर्न, पूर्वाधार निर्माण, स्वास्थ्य सचेतना, आवश्यक पूर्वाधार सहितको अस्पताल निर्माण गर्न, पर्यटकीय गन्तब्यको शुल्क एकद्धारबाट गर्न, सुरक्षाका लागि सडक बत्ती र सीसी टिभी जडान गर्न, सडक विस्तार गर्नुपर्ने बताए ।
यस्तै कनेक्टिभिटी, ट्राफिक व्यवस्थापन, सीपमूलक रोजगारको व्यवस्था, कर दर्ता प्रक्रिया साथै समस्यामा परेका व्यवसायीलाई करमा पूर्ण, आंशिक रुपमा सहुलियत ,विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय गन्तव्य स्थलहरुलाई सम्वद्र्धन र संरक्षण, व्यवसाय दर्ता गर्नको लागि कम्पनी रजिष्ट्रार्डको कार्यालय गण्डकी प्रदेशमा ल्याउन प्रदेश सरकारसँग महानगरलाई समन्वय गर्ने विषय उठाइएको छ ।
पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटकीय क्षेत्रमा रात्रीकालीन व्यवसाय सञ्चालनका लागि सुरक्षा निकायसँग समन्वय गरी सहज वातावरण निर्माण गर्न महानगरपालिकाबाट पर्यटन सम्बन्धी कार्यक्रमको लागि शिर्षक तोकी बजेट विनियोजन गर्नुपर्ने लगायतका विषयमा छलफल भएको छ,शर्माले भने । रासस