काठमाडौं । लक्ष्मी बैंकले एपीआई बैंकिङ्गको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीतिअनुसार एलएक्सबी कनेक्ट नामक एपीआई डेभलपर प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ ।
सो साझेदारीअन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् ।
एलएक्सबी कनेक्ट स्याण्डबक्स इन्भाइरोमेन्टअन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको एपीआईसँग सम्बन्धित कार्य एकीकरणको सम्भावनालाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी तीन वर्गको प्रयोग हुने गरी एपीआईमा पहुँच प्रदान गर्ने जनाएको छ । खाता व्यवस्थापनमा खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने, वित्तीय अन्तर्गत हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी, तलब भुक्तानी, सेटलमेन्ट आदी रहेका छन् ।
यस्तै गैरवित्तीयतर्फ विनिमय दर, शाखारएटीएमहरुको जानकारी, प्रमाणिकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि रहेको बैंकले जनाएको छ ।