काठमाडौं । पछिल्लो १० दिनमा निक्षेपमा सङ्कुचन देखिँदा कर्जा लगानीमा भने विस्तार देखिएको छ । वैशाखका दुई सातामा २२ अर्ब निक्षेप घट्दा कर्जा लगानी भने १० अर्ब बढेको छ ।
नेपाल बैंकर्स संघका अनुसार चैत अन्तिममा कुल निक्षेप ३९ खर्ब ४४ अर्ब रहेकोमा वैशाख १० गते २२ अर्बले घटेर ३९ खर्ब २२ अर्बमा सीमित भएको छ । उता चैत अन्तिममा ३५ खर्ब ७३ अर्ब रुपैयाँ रहेको कर्जा लगानी १० दिनमा १० अर्ब नै बढेर ३५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।
संघका निक्षेप घट्ने दर स्वदेशी मुद्रामा भन्दा विदेशी मुद्रामा बढी छ । चैत मसान्तमा स्वदेशी मुद्राको निक्षेप ३८ खर्ब १५ अर्ब रहेकामा वैशाख १० मा ४ अर्बले घटेर ३८ खर्ब ११ अर्बमा सीमित भएको छ ।
त्यस्तै, १ खर्ब २९ अर्ब विदेशी मुद्रा निक्षेप रहेकोमा १८ अर्बले घटेर १ खर्ब ११ अर्बमा सीमित भएको छ । तर, लगानी स्वदेशी मुद्रामा अत्यधिक बढेको छ भने विदेशी मुद्रामा घटेको छ । चैत अन्तिममा ३३ खर्ब १५ अर्ब स्वदेशी मुद्राको ऋण लगानी रहेकोमा १० दिनमा १ खर्ब २२ अर्बले बढेको छ ।
त्यस्तै, विदेशी मुद्रा कर्जा चैत अन्तिममा २ खर्ब ५९ अर्ब रहेकोमा १० दिनमा १ खर्ब १३ अर्बले घटेको छ । संघको तथ्यांकअनुसार पछिल्लो ४ दिनमा स्वदेशी मुद्रामा ७७ अर्ब कर्जा लगानी घटेको छ ।
चैत २७ गते ३३ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी थियो । तर, विदेशी मुद्रा कर्जा लगानीमा भने त्यही ४ दिनमा १ खर्ब १६ अर्ब रुपैयाँले बढेको छ । चैत २७ गते १ खर्ब ४३ अर्ब बाह्य ऋण लगानी हुँदा चैत अन्तिममा २ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।