काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत निकुञ्ज छलेर जाने नयाँ रुट निजगढ–भरतपुर–बुटवल खण्डको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) छ महिनाभित्र तयार हुने भएको छ ।
पर्सा र चितवन निकुञ्ज भएर जाने रेलमार्गको मार्ग परिवर्तन गर्नुपर्दा डीपीआरमा ढिलाइ भएको हो । आगामी छ महिनाभित्र उक्त खण्डको डीपीआर सम्पन्न हुने रेल विभागले जनाएको छ । यसबाहेक सबै खण्डको डीपीआर तयार भएको छ ।
सो खण्डअन्तर्गत पर्ने कुल १३६ किमी रेलमार्गको डीपीआरका लागि छ ओटा कम्पनीबाट प्राप्त आशयपत्र मूल्याङ्कन भइरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । छिट्टै कम्पनी छनोट गरी छ महिनाभित्र डिपीआर तयार गर्ने गरी कम्पनीलाई जिम्मा दिइने उनले बताए ।
कुल ९४५ किमी लम्बाईको पूर्व–पश्चिम रेलमार्गमा झन्डै ३५ किमी रेलमार्ग ट्र्याकबेड निर्माण भइसकेको विभागले जनाएको छ ।
महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दी खण्डमा ४० किमी रेलमार्ग निर्माण टेन्डर प्रक्रिया अघि बढाइएको छ । यसवर्ष ४० किमीमध्ये २५ किमी रेलमार्ग ट्रयाकबेड निर्माण सम्पन्न गरिने विभागको योजना छ ।
यता, भारतीय नाकासँग जोडिने जयनगरदेखि कुर्थासम्मको ३४ किमी रेलमार्गमा यसवर्ष नै रेल चलाउने विभागको तयारी छ । दुई सेट ‘डेमो ट्रेन’ खरिद गर्ने प्रक्रिया अघि बढिसकेकाले तीन महिनाभित्र रेल चल्ने विभागले जनाएको छ ।
भारतीय रेल्वे कम्पनीमार्फत रेल खरिद गर्न बजेट प्रस्ताव गरी पठाइएको विभागले जनाएको छ । अहिले कुर्थासम्म ३४ किमी रेलमार्ग तयार भइसकेको छ । कुर्थादेखि विजलापुरासम्म थप १७ किलोमिटर खण्डको रेलमार्ग ट्रयाकबेड यसवर्ष बनाएर अर्को वर्षदेखि विजलापुरसम्म नै रेल्वे सेवा विस्तार गरिने महानिर्देशक मिश्रले बताए ।
जग्गा प्राप्ति, वन र वातावरणीय प्रभाव मूल्याङ्क प्रस्तावलगायतका प्रक्रिया पूरा गर्न केही बढी समय लाग्ने हुँदा रेलमार्ग निर्माणमा सोचेजस्तो लक्ष्य हासिल गर्न नसकेको उनको भनाइ छ । उनले यसवर्ष ४० किमी रेलमार्ग ट्रयाकबेड तयार गर्ने लक्ष्य रहेको बताए ।
केरुङ–काठमाडौं र काठमाडौं–निजगढको डीपीआर यसै वर्ष
पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा काठमाडौंलाई चीन र भारतसँग जोड्ने गरी रणनीतिक रुपमा अघि सारिएका रेलमार्ग केरुङ–काठमाडौं र काठमाडौं–निजगढको डीपीआर यसैवर्ष तयार गर्ने लक्ष्य विभागले लिएको छ ।
त्रिदेशीय रणनीतिक महत्वको दुवै रेलमार्गको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । डिटेल डिजाइनसहितको डीपीआर यसैवर्ष तयार गरी अर्को वर्षदेखि निर्माणका लागि अघि सारिने विभागले जनाएको छ । काठमाडौं–निजगढ १३५ किमी र काठमाडौं–केरुङ १०० किमीको हाराहारी पर्छ ।
दुवै परियोजना अघि बढाउन ठूलो पूँजी आवश्यक पर्छ । नेपालले आन्तरिक पूँजीमा दुवै रेलमार्ग परियोजना बनाउन सम्भव देखिदैन् । दुवै रेलमार्ग विकास गर्न झन्डै छदेखि सात खर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यसमा छिमेकी भारत र चीन सरकारको सहयोग अपरिहार्य छ ।