काठमाडौं । कोसी इन्टरनेशनल सर्भिसेज प्रालि सञ्चालन गर्दै आएका गोविन्द थपलिया अहिले कृषि कर्ममा व्यस्त छन् । नेपालको नाम चलेको म्यानपावर कम्पनी मध्येको एक हो, कोसी इन्टरनेशनल । तर, उनले विस्तारै वैदेशिक रोजगार व्यवसायबाट व्यवसायिक कृषि पेशातर्फ आफुलाई मोडेका छन् ।
काभ्रेपलान्चोकको पाँचखालको तीनपिप्ले नजिकै थपलियाको ग्रामीण कृषि फर्ममा पुगिन्छ । लगभग २० करोड रुपैयाँ लगानीमा उनले त्यहाँ कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, तरकारी खेती र गाई पालन लगायतका कृषि कर्मलाई अगाडी बढाइरहेका छन ।
उनी जस्तै धेरै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दै आएकाहरुले अहिले वैकल्पिक पेशा रोज्न थालेका छन् । पछिल्लो समय राज्यको तर्फबाट होस या कोरोना भाइरस (कोभिड १९) को कारण म्यानपावर व्यवसाय संकटमा परेसँगै त्यसमा आवद्ध व्यवसायीहरुले बैकल्पिक व्यवसाय सुरु गरेका हुन् । व्यवसाय राम्रो हुँदाहुँदै पनि समाजमा म्यानपावर कम्पनी प्रति हेर्ने दृष्टिकोण समेत राम्रो नभएको र अर्कोतर्फ व्यवसाय पनि संकटमा पर्न थालेपछि उनिहरुले वैकल्पिक व्यवसाय सुरु गरेका हुन् ।
विषेश गरेर तत्कालिन श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको रोजगारी बन्द गराएसँगै त्यसमा आश्रित धेरै व्यवसायीहरुले वैकल्पिक व्यवसाय सुरु गरेका थिए । मलेसियामा कामदार पठाउँदै आएका व्यवसायी गोविन्द कटुवाल अहिले धुम्बाराहीमा स्काई पार्टी प्यालेस सञ्चालन गर्दै आएका छन् ।
लामो समयसम्म म्यानपावर व्यवसाय सञ्चालन गर्ने वातावरण नभएकोले वैकल्पिक पेशा रोजेको सञ्चालक कटुवालको भनाई छ । राज्यबाट वैदेशिक रोजगार व्यवसायीलाई हेर्ने दृष्टिकोण सकरात्मक नभएको भन्दै दुई वर्ष अघिबाट पार्टी प्यालेस व्यवसाय सुरु गरेको उनको भनाई छ ।
पार्टी प्यालेससँगै उनले सेयर बजारमासमेत लगानी विस्तार गरेका छन् । वैदेशिक रोजगार व्यवसाय भन्दा अहिलेको काममा सकरात्मक प्रतिक्रिया आउने गरेको उनको भनाई छ । उनले सोसियल इम्प्लोमेन्ट सर्भिसेज प्रालि मार्फत मलेसियामा नेपाली कामदारहरु पठाउँदै आएका थिए ।
ओमेगा इन्टरनेशनल प्रालिका सञ्चालक कुमार केसी ललितपुरको गोदावरीमा ओमेगा एग्रिकल्चर फार्म सञ्चालन गरिरहेका छन् । ४५ लाख रुपैयाँ लगानी गरेर फार्म सञ्चालन गर्दै आएका केसीले कृषि उत्पादनहरुलाई बजारमा पुर्याउँदै आएका छन् । मूख्य रुपमा मलेसियामा कामदार पठाउँदै आएका केसीले मेनपावर क्षेत्रमा काम गरेको १७ वर्ष पुगिसेकेको छ ।
धनलाल जैसी मेनपावर व्यवसायसँगै टोखामा मौरिपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । टोखाको पन्चेटारमा करिब ८०० वटा घारसहित २०६५ सालबाट व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
साउदी अरबमा नेपाली कामदार पठाउँदै आएका जैसीले ५ करोड रुपैयाँ भन्दा बढी लगानी मौरीपालन व्यवसायमा लगाएका छन् । कृषि क्षेत्र भनेको तत्कालै नाफा नआए पनि लामो समयसम्म नाफा दिने भएकोले यता लागेको उनको भनाई छ । कान्तिपुर म्यानपावर प्रालि दुई वर्षदेखि चलाउँदै गर्दै आएका जैसीले हाल धौलागिरी एग्रिकल्चरको नाममा फार्म सञ्चालनमा ल्याएका हुन् ।
अबको एक वर्षपछि सञ्चालनमा ल्याउने गरी म्यानपावर व्यवसायी राजेन्द्र भण्डारीले गोदावरीमा गोदावरी फरेष्ट होटल निर्माण गरिरहेका छन् । उनले अरोरा ह्यूमन रिसोर्स प्रालि सञ्चालन गर्दै आएका छन् ।
यस्तै स्काई ओभरसिज सर्भिसेज प्रालि सञ्चालन गर्दै आएका बलबहादुर तामाङले पनि कोभिडकै बीचमा नयाँ व्यवसाय सुरु गरेका छन् । उनले थ्रि एस फार्मेसी सञ्चालन गरेका हुन् ।
मलेसियामा नेपाली कामदार पठाउँदै आएका म्यानपावर व्यवसायी महेश श्रेष्ठ पनि अहिले रेष्टुराँ व्यवसायमा आबद्ध भएका छन् । बैकल्पिक व्यवसायको रुपमा रेष्टुराँसहित अन्य क्षेत्रमा लगानी बढाउन लागिएको उनको भनाई छ ।
म्यानपावर व्यवसायमै सक्रिय रहेकी सुवर्णा श्रेष्ठ अहिले खेलकुद क्षेत्रमा बढि क्रियाशीलता देखाउन थालेकी छिन् । होटलसमेत सञ्चालन गरेकी श्रेष्ठले कोभिडका बीचमा भने खेलकुद क्षेत्रमा सक्रियता जनाउँदै आएकी छिन् । उनि राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत हुन् ।