काठमाडौं । व्यवसायको आकार बढाउँदै लगेका राष्ट्रियस्तरका विकास बैंकहरूले नाफामा पनि वाणिज्य बैंकलाई पछि पारेका छन् । नाफा कमाउनेमा पनि विकास बैंक अब्बल देखिएका छन् ।
व्यवसाय विस्तारका हिसावले केही वाणिज्य बैंकहरूलाई पछि पार्न थालेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ४ वटा विकास बैंकहरूले सिभिल बैंकलाई खुदनाफामा पछि पारेका हुन् । निक्षेप परिचालनमा आक्रामक रूपमा अघि बढेका राष्ट्रिय स्तरका विकास बैंकले नाफामा पनि वाणिज्य बैंकलाई पछि पारेका छन् ।
चुक्ता पुँजी र स्रोत परिचालनका हिसावमा अझै पनि विकास बैंकभन्दा वाणिज्य बैंकनै ठूला हुन् । यद्यपि उनीहरू नाफामा विस्तारै पछि पर्दै गएका छन् ।
यो पनि हेर्नुहोस
निक्षेप परिचालनमा वाणिज्य बैंकलाई उछिन्दै विकास बैंक, एनबी बैंकभन्दा मुक्तिनाथ अघि
सिभिल बैंकले तेस्रो त्रैमासमा ५० करोड २५ लाख रुपैयाँ खुदा नाफा गरेको वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । राष्ट्रिय स्तरको मुक्तिनाथ विकास बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
यस्तै गरिमा विकास बैंकको ६७ करोड ८२ लाख, ज्योति विकास बैंकको ६० अर्ब र कामना सेवा विकास बैंकको खुदनाफा ५८ करोड ६१ लाख रुपैयाँ रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
पुँजीगत आधार सिभिल बैंक ठूलो छ । उसको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बढी छ । यस्तै विकास बैंकको साढे २ अर्ब रुपैयाँदेखि साढे ४ अर्ब रुपैयाँसम्म चुक्ता पुँजी छ । निक्षेप परिचालन र कर्जा लगानीमा पनि सिभिल बैंकको बढी छ ।
तेस्रो त्रैमासमा सिभिल बैंकले नाफा ३९ प्रतिशतले बढाएको छ । यस्तै मुक्तिनाथको ४८.७५ प्रतिशतले बढेको छ । ज्योति विकासको ३८, गरिमाको ३६.६३ र कामना सेवाको १७२ प्रतिशतले नाफा बढेको छ ।
निक्षेप बढेसँगै व्यवसाय फस्टाउने गर्छ । व्यवसाय फस्टाउनु भनेको बैंकको आम्दानी बढ्ने र त्यसले नाफालाई पनि वृद्धि गर्छ । यसबाट लगानीकर्ताको प्रतिफललाई समेत सुनिश्चितता दिन्छ । यस आधारमा लगानीकर्तालाई लाभांश दिनेमा वाणिज्य बैंकभन्दा विकास बैंक अघि हुने देखिएको छ ।