काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा सिभिल बैंकको खुदनाफा ३९.३९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले ५० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ।
यो गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३६ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत वर्षको तुलनामा यो वर्षको तेस्रो त्रैमाशमा बैंकको नाफा २० करोड २० लाख रुपैयाँ बढेको देखिएको छ । सो नाफाबाट बैंकले सेयरधनीहरुलाई ३० करोड ७७ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ ।
बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा छ । यस्तै खुद कितावी मूल्य १२३ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी घटेर १ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकले १७ करोड ७३ लाख रुपैयाँ निष्क्रिय कर्जा असुल गरेपछि खुदनाफामा वृद्धि भएको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको निष्क्रिय कर्जा घटेर १.१३ प्रतिशतमा झरेको छ । गत वर्षको यसै अवधिमा बैंकको यस्तो कर्जा २.९६ प्रतिशत थियो । बैंकको निक्षेप लागत ६..६१, पूँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ८०.३०, आधार दर ७.८२ र ब्याजदर अन्तर (स्प्रेड) ३.३८ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको चुक्तापुँजी ८ अर्ब ६४ करोड रुपैयाँ छ । सञ्चित कोषको आकार १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप ४८.२४ प्रतिशतले बढेको ८५ अर्ब २५ करोड छ । गत वर्ष ५७ अर्ब ५१ करोड रुपैयाँ थियो । यस्तै कर्जा प्रवाह ४८ प्रतिशतले बढेर ७७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा ५२ अर्ब २० करोड रुपैयाँ थियो ।