काठमाडौं । नेपालबाट साउदी अरब जाने एयरलाइन्सहरुले टिकटको आफूखुसी मूल्य राखेपछि नेपाली कामदारहरु प्रभावित भएका छन् ।
भारतबाट साउदी अरब जान प्रतिबन्ध भएपछि भारतीय कामदार नेपाली बाटो हुँदै साउदी अरब जान थालेपछि यात्रुको चापको कारण देखाउँदै एयरलाइन्स कम्पनीहरुले टिकटको मूल्य दोब्बरले बढाएका हुन् ।
नेपालबाट साउदी अरब जान २८ हजार रुपैयाँ रहेको टिकटको मूल्य अहिले ६० देखि ६५ हजार रुपैयाँसम्म पुर्याइएको छ । कतार एयरवेज, ओमान एयरवेज, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले २८ हजार टिकटलाई ६० देखि ६५ हजार रुपैयाँ लिएर कामदार लैजाने गरेका छन् । धेरै एयरलाइन्सले नेपालबाट कतार ट्रान्जिट बनाएर त्यहाँबाट साउदी पुराउने गरेका छन् ।
भारतमा कोरोना भाइरस संक्रमण तीव्र भएपछि साउदीले भारतीय कामदारलाई साउदीमा रोक लगाए पनि कोभिड परीक्षण र नेपालमा क्वारेन्टाइन बसेको कागज बनाएर भारतीय कामदार काठमाडौंबाट साउदी जान थालेपछि एयरलाइन्स कम्पनीहरुले आफूखुसी टिकटको महँगो बनाएका हुन् ।
एयरलाइन्स कम्पनीहरुले महँगोमा भारतीय कामदारलाई टिकट बेच्न थालेपछि नेपाली कामदारले टिकटसमेत पाउन मुस्किल रहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
संघका सचिव सुजित श्रेष्ठले एयरलाइन्स कम्पनीहले मनपरी टिकटको मूल्य लिन थालेपछि यस विषयमा वैदेशिक रोजगार विभागमा पनि ध्यानाकर्षण गराएको बताए । एयरलाइन्सहरुले पहिले २८ हजार रहेको टिकट अहिले ६५ रुपैयाँ हजार लिइरहेका छन । ट्राभल एजेन्सी र एयरलाइन्स कम्पनीहरुको मिलेमतोमा टिकट महँगो बनाइएको उनले बताए ।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले टिकटको मूल्य बढेपछि अहिले साउदीले कामदार होल्ड गरिरहेको बताए । ‘उतैबाट टिकट आउने भए पनि भाडा महँगो भएका कारण कामदार नपठाउ भन्न थालेको छ,’ उनले भने ।
भारतमा कोरोना बढी भयो भनेर भारतबाट जान रोक लगाएको हो तर नेपालबाट भारतीय कामदार पठाउँदा नेपाली कामदारलाई पनि रोक लगाउन सक्ने उनले बताए । ‘यहि बहानामा टिकट पनि महँगो बनाएको छ, सरकारले यसमा निगरानी गरेर कारबाही गर्नुपर्ने हो तर चासो राखेको पाइँदैन,’ उनले भने ।
नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले माग धेरै भएका कारण अहिले टिकट महँगो भएको बताइन । माग कम हुँदा फेरि सस्तो हुने उनको भनाई छ ।
नेपालस्थित कतार एयरवेजका एक अधिकारीले महँगो टिकट भारतीय कामदारलाई मात्र लिइएको र अरू एयरलाइन्सले १ लाख रुपैयाँसम्म लिइरहेको बेला आफूहरुले ६५ हजार रुपैयाँ मात्र लिएको बताए ।
‘टिकट सस्तो र महँगो हुने कुरा सिस्टमका कारण हो अहिले माग बढी भएकाले टिकट महँगो भएको हो,’ उनले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै भने ।