विराटनगर । चालू आर्थिक वर्षको चैत मसान्तसम्म विराटनगर भन्सारबाट वस्तु आयात बढेको छ । ९ महिनाको अवधिमा १ खर्ब ३६ अर्ब ९४ करोड ३२ लाख ८५ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ ।
आयातको तुलनामा निर्यात भने निकै कम भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसा चालू आर्थिक वर्षमा २४ अर्ब १० करोड ८३ लाख २७ हजार रुपैयाँबराबरको सामान निर्यात भएको छ । निर्यातभन्दा १ खर्ब १२ अर्ब ८३ करोड ४९ लाख ५७ हजार रुपैयाँ बढीको सामान आयात भएको देखिन्छ ।
भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले विराटनगर नाकाबाट हुने माल वस्तुको आयात प्रत्येक वर्ष बढ्दै गएको बताए । निर्यातभन्दा आयात बढी हुँदा नेपालमा व्यापार घाटा बढेको हुने उनको भनाइ छ ।
गत आर्थिक वर्षमा विराटनगर नाकाबाट निर्यात भन्दा १ खर्ब ३५ अर्ब ५५ करोड १३ लाख ३ हजार रुपैयाँ बढीको मालसामान आयात भएको थियो । भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ३२ अर्ब ६८ करोड २५ लाख ४ हजार रुपैयाँको सामान आयात हुँदा नेपालबाट २८ अर्ब ५१ करोड ३१ लख २० हजार रुपैयाँको सामान निर्यात भएको थियो ।
भटमासको तेल कच्चा वस्तु आयात धेरै
भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा विराटनगर भन्सारबाट ६ अर्ब ९१ करोड ७१ लाख ९१ हजार रुपैयाँको भटमासको तेल कच्चा वस्तु आयात भएको छ ।
त्यसैगरी ६ अर्ब ७३ करोड ३४ लाख ७६ हजार रुपैयाँको एमएस विलेट आयात भएको छ भने पोलीथिन दाना ५ अर्ब ४१ करोड १४ लाख ८२ हजार रुपैयाँको आयात भएको छ ।
त्यस्तै ४ अर्ब ८३ करोड ५९ लाख ९ हजार रुपैयाँको स्टिल वायर रड इन क्वायल र ८ एमयससम्म, ४ अर्ब १२ करोड ४८ लाख ५२ हजार रुपैयाँ बराबरको तयारी कपडा आयात भएको भन्सार कार्यालय विराटनगरले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार ३ अर्ब ४९ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरको खाद्यान्न मकै, ३ अर्ब १७ करोड ८७ लाख ४१ हजारको सीआरसिट, ३ अर्ब ५२ करोड ७७ लाख ६ हजार रुपैयाँको सूर्यमुखी कच्चा तेल, २ अर्ब ८९ करोड ४३ लाख ७३ हजार रुपैयाँको एलपी ग्यास र २ अर्ब ७६ करोड १३ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको अन्य औद्योगिक मेसिनरी सामान भित्रिएको छ ।
सबैभन्दा बढी भटमासको तेल निर्यात
भन्सार कार्यालयले दिएको जानकारीअनुसार विराटनगर भन्सारबाट चालू आर्थिक वर्षमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ । ६ अर्ब ७१ करोड ४५ लाख ८५ हजार रुपैयाँ बराबरको प्रशोधित तेल निर्यात भएको छ । ३ अर्ब २७ करोड ९७ लाख ६० हजार रुपैयाँको सेन्थेटिक यार्न निर्यात भएको कार्यालय जनाएको छ ।
त्यसैगरी २ अर्ब ९१ करोड १६ लाख ४८ हजार रुपैयाँको जुटका बुनियाँका कपडा निर्यात भएको छ भने १ अर्ब ५९ करोड ९७ लाख ३४ हजार रुपैयाँ बराबरको बोरा झोला जुटको निर्यात भएको छ ।
त्यस्तै १ अर्ब ५३ करोड १२ लाख २९ हजार रुपैयाँको अन्य कपडा (ऊनी, सुती, टेलिकटन बाहेकका), ७३ करोड २९ लाख २७ हजार रुपैयाँको चाउचाउ, नुडल्स, पास्ता आदि, ५९ करोड १७ लाख ३६ हजार रुपैयाँको पिना अन्य, ३५ करोड १७ लाख ४१ हजार रुपैयाँको तामाको सिट, चादर र स्टिप, ३१ करोड १९ लाख ४६ हजार रुपैयाँको सनपाटको धागो र २९ करोड ११ लाख ५६ हजार रुपैयाँबराबरको जीआई वायर निर्यात निकासी भएको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत यादवका अनुसार माथि उल्लेखित बाहेक पेसिनका पार्टपुर्जा, धान चामल, गहुँ, फलफूल, आलु प्याज, चुत्ताचप्पल पनि बढी मात्रामा आयात हुने गरेको छ ।
विराटनगर नाका भएर नेपालका लागि ५२ प्रतिशत खाद्यान्न, ६९ प्रतिशत पेट्रोलिय पदार्थ, ४८ प्रतिशत नयाँ सवारी साधन र ३८ प्रतिशत औषधि आयात हुने गरेको पनि अधिकृत यादवले जानकारी दिए । पूर्वकै सबैभन्दा ठूलो सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्र पनि यही रहेको छ । जहाँ साना ठूला गरी करिब ७ सयवटा उद्योग छन् ।