काठमाडौं । राष्ट्रिय गौरवका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्र गतिमा बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रुतगतिमा भइरहेको छ ।
गौतम बुद्धको काम अन्तिम चरणमा पुगे पनि केही प्राविधिक समस्याका कारण पोखरा विमानस्थल अघि आउने संभावना बढेको छ । यसैले कुन विमानस्थल अघि सञ्चालनमा आउने भन्ने निश्चित अझै हुन सकेको छैन ।
पटक–पटक सञ्चालनको मिति घोषणा गर्दै आएको गौतमबुद्ध विमानस्थलको काम ९८ प्रतिशत सकिएको दाबी आयोजनाको छ । विमानस्थल कहिलेबाट र कसरी सञ्चालन गर्ने भन्ने मोडालिटी अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।
त्यति मात्र होइन गौतमबुद्ध विमानस्थलमा कुन–कुन एयरलाइन्सले उडान गर्ने र कताबाट विमान अवतरण गराउने भन्ने रुटको पनि टुंगो लाग्न सकेको छैन ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले केही समयअघि गरेको स्थलगत निरीक्षणको क्रममा गौतमबुद्ध विमानस्थल भन्दा पोखरा विमानस्थलको काम सन्तोषजनक भएको बताएका थिए ।
दुवै विमानस्थलको स्थलगत निरीक्षण गरेर फर्किएपछि मन्त्री ढकालले आफ्नो सचिवालयसँगको कुराकानीमा गौतमबुद्धभन्दा पोखरा अघि आउन सक्ने प्रक्षेपण गरेको प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए । पोखरा विमानस्थलका भित्रि कामहरू सकिँदै गएको र डाँडा काट्नका लागि पनि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले गौतमबुद्धभन्दा छिटो हुन सक्ने उनको भनाइ छ ।
गौतमबुद्ध विमानस्थलको काम सकिए पनि हवाई रुटको विषयमा भारतले निर्णय नदिँदासम्म सञ्चालनमा आउन नसक्ने देखिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना अघि बढाए पनि हवाई रुटको विषयमा भने टुंगो लगाउन सकेको छैन । यस्ता आयोजनाहरू अघि बढाउँदा पहिला नै हवाई रुटको विषयमा टुंगो लगाउनुपर्ने थियो ।
यता प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा पुगेकाले सबैभन्दा पहिला यही आयोजना सञ्चालनमा आउने बताए । कहिलेबाट सञ्चालनमा आउने भन्ने मिति भने तय नभइसकेको उनले जानकारी दिए ।
चालू आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको भए पनि कोभिड–१९ का कारण समयमै कामदार तथा निर्माण सामग्री अभावलाई देखाएर ढिलाइ हुँदा २०७८ भित्र सञ्चालन गर्ने तयारी भएको छ ।
यसअघि सरकारले निर्माण अवधि पाँचौं पटक म्याद थपेर सन् २०२० डिसेम्बरभित्र सक्ने लक्ष्य दिएको थियो । आयोजना प्रमुख प्रवेश अधिकारीकाअनुसार कोरोना महामारीका कारण विदेशबाट आउनुपर्ने दक्ष जनशक्ति समयमा नआउँदा निर्माणको काममा ढिलाइ भएको हो ।
विमानस्थलमा आवश्यक भौतिक संरचनाहरू तयारी अवस्थामा रहेको र प्रविधिहरू जडानको काम भइरहेको छ । २०७१ माघमा शिलान्यास भएको विमानस्थल २०७४ पुसमा सक्ने कार्यभार पाएको थियो । तर, २०७२ को भूकम्प र मधेस आन्दोलनले सिर्जित नाकाबन्दीका कारण काममा ढिलाइ भयो ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण सुरु भएको विमानस्थलको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।
त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि ६५ प्रतिशत पूरा भएको छ । सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम भइरहेको प्रमुख विनेश मुनकर्मीले जानकारी दिएका छन् ।
आयोजनाको बाँकी ३५ प्रतिशत काममध्ये २० प्रतिशत प्राविधिक र १५ प्रतिशत सिभिल काम छ । सिभिलतर्फ रंगरोगन र फिनिसिङको बाँकी भएको छ । पोखरा विमानस्थल बनाउन २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पोखरा विमानस्थलको काम चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले २०७४ असारदेखि काम सुरु गरेको हो ।