काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लोभलाग्दो प्रगति गरेको छ । कोरोना महामारीकाबीच सिटिजन्सले खुदनाफा ४१.६१ प्रतिशतले बढाएको छ ।
चैतसम्म बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा ९ महिनाको अवधिमा ४५ करोड ४० लाख रुपैयाँ खुदनाफा बढाएको उल्लेख छ । सो नाफाबाट सेयरधनीलाई १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
कोराेना महामारीकाबीच बैंकिङ कारोबारमा असर परे पनि निक्षेप परिचालन तथा कर्जा प्रवाहमा भएको वृद्धिका कारण खुदब्याज आम्दानी र अन्य आयमा भएको बढोत्तरीले खुदनाफा गत आर्थिक वर्षको भन्दा सुधार देखिएको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकले ९ महिनामा २ अर्ब ५४ करोड रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुदब्याज आम्दानी २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर २०.७२ रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी १६.८७ रुपैयाँ थियो । यस्तै प्रतिसेयर कितावी मूल्य १४६.८७ रुपैयाँ रहेको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात १.८३ प्रतिशत छ । निक्षेप लागत घटेर ५.७१, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.१३, आधारदर ७.४४ र ब्याजदर अन्तर (स्प्रेड) ३.८६ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको सञ्चित कोषको आकार बढेर ४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
९ महिनामा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि बढेर १ खर्ब ८ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । यो वर्ष बैंकले प्रदेश नम्बर ५ मा रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ ।
यस्तै प्रदेश नम्बर १ मा रहेको सिर्जना फाइनान्स लिमिटेडलाई पनि प्राप्ति गर्ने प्रक्रियामा रहेको छ । बैंकको चुक्तापुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।