काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) को ग्रामीण तथा सहरी क्षेत्रको विद्युत महसुल घरैबाट तिर्न सकिने भएको छ । बीपीसीले खल्ति डिजिटल वालेट एपमार्फत सो सुविधा प्रदान गरेको हो ।
बीपीसीका विभाग प्रमुख कर्पोरेट टीकाराम भट्ट र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेलबीच सम्झौता भएपछि उक्त सेवा सुरु भएको हो ।
बीपीसीले स्याङ्गजाका वालिङ, गल्याङ, रामपुर र झिमरूक क्षेत्रमा विद्युत वितरण गरिरहेको छ । ग्राहकले विद्युत प्रयोग गरेको महसुल अग्रिम तथा ढिला भुक्तानी गर्न सक्ने छन् ।
त्यस्तै अनलाइनमा भुक्तानी गर्न बाँकी भएको तीन महिनासम्मको बिल हेर्न सकिनेछ । भुक्तानीका लागि खल्ती एपको मुख्य पेजमा गइ बीपीसी लेखिएको ठाउँमा थिची बुटवल पावर कम्पनीको बिल तिर्ने काउन्टर, ग्राहक परिचय नम्बर र ग्राहक नम्बर हालेपछि तिर्नुपर्ने रकम देखाउँछ ।
उक्त रकम ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट तिर्न सक्छन् । सहायक प्रबन्धक भूर्तेल बिजुलीको बिल भुक्तानी गर्न पैदल हिँड्नु पर्ने वा गाडी चढेर भाडा तिर्नुपर्ने समस्या हटेको बताउँछन् ।
साथै नेपालको जुनसुकै क्षेत्रमा घरमै बसेर अनलाइन भुक्तानी सेवा उपलब्ध हुनु खुसीको कुरा भएको तथा सो सेवाले डिजिटल नेपालको अभियानलाई सहयोग पुर्याउने उनको भनाइ छ ।
चार क्षेत्रमध्य पहिलो चरणमा वालिङ, गल्याङ, रामपुरको भुक्तानी सुरु भएको छ भने झिमरूकको दोस्रो चरणमा सुरु हुने बताइएको छ ।
खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी गर्न सकिन्छ ।
त्यस्तै फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेलगायत सेवा लिन सकिन्छ ।