काठमाडौं । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एयरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाइ गरेको छ । उसले कोभिड–१९ को संकास्पद र सङ्क्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाउनुका साथै वृद्ध, दीर्घरोगी, गर्भवती महिलालाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न अनुरोध गरेको छ ।
लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान सुरु गरेको यतीले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाइ गरेको हो ।
यात्रुलाई सुरक्षित र सङ्क्रमणरहित यात्रा गराउने उद्देश्यले बन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाएको यतीले उक्त स्वास्थ्य निर्देशिकालाई कडाइका साथ पालना गराउँदै आएको एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
‘अहिलेको अवस्थामा सङ्क्रमण जोखिम कायम रहे पनि उच्च सतर्कता अपनाएर यात्रुलाई सुरक्षित यात्रा गराउन हामी प्रतिवद्ध छौँ,’ प्रवक्ता बर्तौलाले भने ।
यतीले बन्दाबन्दीपछि जारी गरिएको स्वास्थ्य निर्देशिकालाई बेलाबेला परिमार्जन गरी सो को पालना नियमित भए नभएको अनुगमन गरी पूर्ण अनुशरण गरी उडान गर्दा अहिलेसम्म कसैलाई पनि कोरोना सङ्क्रमण नभएको उनको भनाइ छ ।
‘निर्देशिका तयार गर्नु मात्र महत्वपुर्ण होइन सोको नियमित कार्यान्वयन गर्नु महत्वपूर्ण हो, यसका लागि हामी निरन्तर लागिरहेका छौं,’ उनले भने सुरक्षित यात्राका लागि ढुक्क भएर यती एयरलाइन्स तथा तारा एयरमार्फत उडान गर्न सक्नुहुनेछ ।’
यतीले पहिलो पंक्तिमा कार्यरत शतप्रतिशत कर्मचारीहरूलाई पहिलो चरणको खोप लगाउने काम सम्पन्न गरी दोश्रो चरणको खोप लगाउने व्यवस्था मिलाई सकेको जनाएको छ । उडान पहिले वायुयानको क्याविन, र्याम्प बस, लगेज तथा सामान निसङ्क्रमण गर्ने र यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने तथा ओराल्ने व्यवस्था मिलाइएको छ ।
यतीले यात्राका क्रममा भौतिकदूरी कायम गर्न, यात्रुलाई क्याबिनमा हातेझोलाबाहेक अन्य झोला नलैजान, विमानमा घरपालुवा जनावर ओसारपसार नगर्न र विमानभित्र सिटमा बसिसकेपछि अनावश्यक रुपमा हिँडडुल नगर्न आग्रह गरेको छ ।