नयाँ दिल्ली, एएनआई । भारतमा कोरोना भाइरसबाट एकै दिनमा २ लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । “एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,” एक सरकारी उच्च अधिकारीले आइतबार भने । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६१ हजार ५०० जना नयाँ सङ्क्रमित थपिएका छन् ।
त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ५०१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोना भाइरसबाट कुल मृतकको सङ्ख्या १ लाख ७७ हजार १५० पुगेको देखिएको छ ।
त्यसैगरी कोरोना भाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १८ लाख १ हजार ३१६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार ४२३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या १ करोड २८ लाख ९ हजार ६४३ पुगेको छ ।
भारतमा शनिबार मात्रै १५ लाख ६६ हजार ३९४ जनाको कोरोना परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सीलले जनाएको छ । अप्रिल १७ सम्म कुल २६ करोड ६५ लाख ३८ हजार ४१६ जनाको कोरोना परिक्षण गरिएको पनि काउन्सिलले उल्लेख गरेको छ ।
भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५९० ओटा खोप खपत भएको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।