काठमाडौं । नेपाल वायुसेवा निगमको वाईडबडी जहाज ए ३३० को ल्याण्डिङ गियर डाउन गरिएको पाइएको छ । अप्रिल १०(चैत २८) गते क्याप्टेन प्रमोद श्रेष्ठ र समाज श्रेष्ठले उडान गरेको अन्नपूर्ण जहाजको गिएर डाउन गरेको पाइएको हो ।
जहाज उडिरहेको बेला गियर तातिएको म्यासेज आएपछि गति (स्पिड) लाई केहि नियन्त्रणमा लिएको थियो । यस सम्बन्धी शुक्रबारबाट छानविन अगाडी बढाएको छ । जहाजको अवस्था भने सामान्य रहेको बताइएको छ । उनिहरुले प्रक्रिया पुरा नगरी ल्याण्डिङ गियर डाउन गरिएको आशंकामा निगमले छानविन गरेको हो ।
जहाज ३५ हजार फिटको उचाईबाट केहि छिनका लागि ३१ हजार फिटमा झारेर गियर डाउन गरिएको पाइएको छ । ल्याण्डीङ गियर डाउनको विषय सामान्य भए पनि त्यसभित्र केहि खराबी हुन सक्ने भन्दै अनुसन्धानलाई अगाडी बढाएको निगमले जनाएको छ ।
यसमा क्याप्टेनको गल्ती हुन पनि सक्छ, त्यहि भएर अनुसन्धान भइरहेकोछ, निगमका एक अधिकारीले क्यापिटलसँग भने । स्पिड कम नगरी गियर डाउन गर्दा जहाजमा समस्या देखिन सक्ने भएकोले त्यसमा केहि भएको छ, की भनेर छानविन गरिरहेको छ ।
प्रक्रिया पुरा नगरी स्पिड कम गर्नु मानविय त्रुटि भएको मानिन्छ । त्यहि भएर ती क्याप्टेनहरुलाई आइतबार सोधपुछका लागि बोलाइएको जनाएको छ ।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले घटनाको विषयमा आफुलाई जानकारी नआएको बताए । गियर डाउनको विषय सेफ्टिसँग जोडिएको विषय भएकोले उतै छानविन भइरहेको हुन सक्ने उनले जानकारी दिए । ‘सायद मलाई रिपोटिङ हुन बाँकी हुन सक्छ,’महाप्रवन्धक पौडेलले भने ।