काठमाडौं । नेपालगन्जमा रहेको प्रशिद्ध बागेश्वरी मन्दिरमा अव माछापुच्छ्रे बैंकको क्युआर कोडमार्फत भेटि दिन सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आमनागरिक माझ डिजिटल बैंकिङ सेवाको पहुँच बिस्तार गर्ने अभियान सञ्चालन गरिरहेको माछापुच्छ्रे बैंकले बागेश्वरी मन्दिरमा क्युआर कोड सेवा सुरु गरेको हो ।
गभर्नर महाप्रसाद अधिकारीले मन्दिरमा क्युआर कोडमार्फत भेटी चढाइ उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए ।
क्युआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाइका लागि हरेक वर्ष देशबाट बाहिरिने ठूलो धनराशि कटौती हुने हुँदा सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, बाँकेका जिल्लाका प्रमुख अधिकारी शिवराम गेलाल र बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरूको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।
बैंकले देशका विभिन्न स्थानहरूमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुराँ, कस्मेटिक पसलहरू, यातायात सेवाहरू लगायतका विभिन्न व्यसायीहरूलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको जनाएको छ ।
डिजिटल बैंकिङ सेवाको पहुँच नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे बैंकले आक्रामक रूपमा सेवा विस्तार गरिरहेको छ ।