काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ६ अर्ब रुपैयाँ लगानीमा विराटनगर र नेपालगन्जमा दुईवटा टर्मिनल भवन बनाउने भएको छ । हवाई यात्रुको चाप बढेसँगै प्राधिकरणले ती दुई ठाउँमा अत्याधुनिक सुविधासहितको टर्मिनल भवन निर्माणका लागि अन्तिम तयारी गरिएको प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
प्रवक्ता क्षेत्रीका अनुसार विराटनगरमा निर्माण हुने टर्मिनल भवन आन्तरिक उडानको हालसम्मकै सबैभन्दा ठूलो हुनेछ। काठमाडौं विमानस्थलको डोमेस्टिक टर्मिनलको क्षेत्रफल ६ हजार वर्गमिटर छ । विराटनगरमा निर्माण हुने टर्मिनल ८ हजार ९७७ वर्गमिटरको रहने छ ।
तीन वर्षभित्रै निर्माण सक्ने गरी टेण्डर आह्वान गर्न लागिएको प्रवक्ता क्षेत्रीले जानकारी गराए । प्रवक्ता क्षेत्रीका अनुसार विराटनगरमा निर्माण हुने टर्मिनलको लागत ३ अर्ब १५ करोड रुपैयाँ छ भने नेपालगन्जको ३ अर्ब रुपैयाँ रहेको छ । ठेक्का प्रतिस्पर्धामा जाँदा अनुमानभन्दा लागत कम पनि हुन सक्ने छ ।
प्रतिघन्टा ९०० यात्रुलाई सेवा दिनसक्ने नयाँ टर्मिनलले आगामी ३० वर्षसम्मको ट्राफिक थेग्ने प्राधिकरणको प्रक्षेपण छ । यस्तै नेपालगन्जमा निर्माण हुने टर्मिनलको क्षमता प्रतिघण्टा १ हजार जनाको छ ।
नेपालगञ्ज विमानस्थलका लागि परामर्शदाता नियुक्ति तथा डिजाइनको काम गरिसकेको छ । निर्माण व्यवसायीको पूर्वयोग्यता छनौटको काम सकिएपछि टेन्डरमा सहभागी हुन पाउने व्यवसायीको सूची प्रकाशित हुनेछ । त्यसपछि त्यही सूचीमा रहेकाहरूले टेन्डरमा भाग लिने प्रवक्ता क्षेत्रीले जानकारी दिए । १६६ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलमा ४ हजार ४८ वर्गमिटर क्षेत्रफलमा नयाँ टर्मिनल भवन निर्माण हुनेछ ।
विराटनगर र नेपालगन्ज विमानस्थलमा टर्मिनल भवनका लागि डिजाइनको काम सकिएको र खरिद प्रक्रिया अघि बढाउन थालिएको प्राधिकरणअन्तर्गतको विमानस्थल पूर्वाधार निर्माण हेर्ने एरोडोम निर्देशनालयका इञ्जिनियर नलबिक्रम थापाले जानकारी दिए । उनका अनुसार नेपालगन्जमा बन्ने टर्मिनल भवन तीन तलाको हुनेछ भने विराटनगरको दुई तलाको रहनेछ ।
नेपालगन्जमा धावनमार्गसँगै जहाज पार्किङ गर्ने ठाउँ (एप्रोन) पनि नयाँ बनाएको छ । ६ वटा एटिआर ७२ जहाज पार्किङ गर्न मिल्ने नयाँ एप्रोन निर्माण भएर सञ्चालनमा आइसकेका छन् । यी नयाँ बनेका एप्रोमा ३६० डिग्री टर्न गर्न मिल्ने इन्जिनियर थापाले जानकारी दिए ।
विमानस्थलको क्षमता विस्तार गर्नका लागि बनेको गुरुयोजनाअनुसार प्राधिकरणले धावनमार्ग विस्तार लगायतका काम गरिरहेको जनाएको छ । हाल १५ सय मिटर लामो रहेको धावनमार्गमा २०० मिटर विस्तारको काम अहिले भइरहेको छ ।