काठमाडौं । नेपाल वायुसेवा निगमको बोइङ ७५७ जहाज पुरानै मूल्यमा लैजाने सहमति भएको छ । व्यवस्थापनको अथक प्रयासपछि पुरानै मूल्यमा पहिलाकै कम्पनीले लैजाने मौखिक सहमति भएको निगमका एक अधिकारीले जानकारी दिए ।
निगमको बोइङ ५७ लाख १० हजार अमेरिकी डलरमा पोल्यान्डको एसबीएस एयरक्राफ्ट एन्ड लिजिङ कम्पनीले खरिद गर्ने भएको थियो । खरिद गर्ने निर्णय भए पनि सो कम्पनीसँग सम्झौता भने भएको थिएन ।
कोरोना भाइरस(कोभिड–१९) को कारण देखाउँदै सम्झौताका लागि नेपाल आउन मानेको थिएन । तर,अहिले भएको सहमतिअनुसार सो कम्पनीसँग सम्झौता गर्न निगमका अधिकारीहरु आफैं पोल्यान्ड जाने भएका हुन् । ‘सकेसम्म सो कम्पनीका अधिकारीलाई नेपालमै बोलाउने प्रयास गरिरहेका छौं, निगमका एक अधिकारीले क्यापिटलसँग भने,नभए हामी आफैं उतै जाने हो ’ ।
जे होस्र अब कवाडीमा जान लागेको जहाज बिक्री हुने निश्चित भने भएको छ,ती अधिकारीले भने । विदेशमा जान भने निगमको सञ्चालक समितिले निर्णय गर्नुपर्छ । ती अधिकारीको भनाइअनुसार पोल्याण्डको कम्पनी नेपालमा आउन मानेन भने सञ्चालक समितिमा निर्णय गरेर केही अधिकारीहरुलाई उतै पठाइनेछ ।
गत फ्रेब्रुअरी(२०७६ फागुन) भित्रै उडिसक्नु पर्ने भए पनि निगमको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणले केहि समयका लागि उडान अवधी थप गर्ने सहमति समेत भएको छ । जहाज त्यहाँसम्म पुग्न सक्ने अवस्था रहेकोले पनि प्राधिकरणले उडानका लागि अनुमति दिन सक्ने देखिएको छ ।
सो बोइङ ३२ वर्षे पुरानो हो । फागुनभित्र लगिसक्ने गरी सो कम्पनीले निगमलाई उसले ५ प्रतिशत बैनासमेत दिइसकेको थियो । सन १९८७ मा खरिद गरेको बोइङ बिक्रीका लागि निगमले तीन पटकसम्म विज्ञापन गरेको थियो । निगमले पहिलो पटक ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात ८७ करोड ५० लाख रुपैयाँ विमानको आधारमूल्य तोकेको थियो ।
दुई पटकसम्मको टेन्डरमा कुनै पनि कम्पनीले आवेदन नदिएपछि तेस्रोपटक लिलामी जहाज बिक्रीका लागि सूचना जारी गरिएको थियो । अन्तिम पटक जहाज बिक्रीका लागि ४२ लाख ५० हजार अमेरिक डलर आधार मूल्य तोकिएको थियो ।