काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको जलमहल होटललाई स्तरोन्नति गरी चारतारे बनाउन प्रक्रिया अघि बढेको छ । १८ रोपनी क्षेत्रफलमा फैलिएको सो होटलले अहिले पर्यटक स्तरको मात्र अनुमति लिएको छ ।
होटलका सञ्चालक दिनेश प्रसाईंले पारिवारिक रुपमा सञ्चालन गर्दै आएको जलमहललाई अब कर्पोरेट स्टाइलमा सञ्चालन गर्न लागिएको बताए । हाल ३२ वटा कोठाबाट २८ वटा थप गरी ६० वटा बनाउन लागिएको बताए । २८ वटा कोठाका लागि संरचना तयार भइसकेको र फिनिसिङको काम ३ देखि ४ महिना भित्रमा सकिने उनको भनाइ छ ।
होटलको स्तरोन्नति गरिएसँगै नयाँ लगानीकर्ताहरूसमेत भित्र्याउने तयारी गरेका छन् । ‘पारिवारिकबाट बाहिर रहेर पार्टनसिपमा काम गर्ने सोचका साथ केही नयाँ साथीहरूलाई भित्र्याउन लागेको छु, सञ्चालक प्रसाईंले भने, अहिले नै नाम भने सार्वजनिक नगरौं ।’
ठूलै लगानीकर्ता भित्र्याउनका लागि आपसी समझादारी भइसकेको र होटलको मूल्यांकन भइरहेकाले कति लगानी ल्याउने र कतिसम्मको बनाउने विषय छलफलको क्रममा रहेको उनको भनाइ छ ।
नयाँ लगानीकर्ता आएसँगै नयाँ योजना र सोचका साथ कामहरू अघि बढ्ने भएकाले अहिले नै यतिसम्म लगानी हुन्छ भन्ने स्पष्ट नभइसकेको उनले बताए ।
अबको केही समयभित्रै लगानीकर्ताहरू टुंगो लागिसक्ने छ, उनले भने । करिब १२ वर्षअघिदेखि सुरु गरेको पारिवारिक होटलमा ३ वटा स्वीमिङ पुल, चारवटा हल रहेको छ ।
‘नयाँ पार्टनरसिपले हामीलाई आर्थिक रुपमा टेको प्रदान गर्नुका साथै होटल व्यवस्थापनलाई स्वायत्त र थप व्यावसायिक बनाउन मद्दत गर्नेछ सञ्चालक प्रसाईंले भने काठमाडौंको मातातीर्थको नयाँ प्रोजेक्टलाई थप समय र स्रोत उपलब्ध गराउनेछ,’ उनले भने । प्रसाईंले मातातीर्थमा इको रिसोर्ट निर्माण गरिरहेका छन् ।