काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
गत माघमा १ अर्ब ७१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा २ अर्ब ५५ करोड बराबरको कारोबार भएको हो । यसैगरी, गत माघ महिनामा ५ लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा छ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ ।
पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।
माघमा मात्र एक खर्ब ७२ अर्ब ४ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । गत माघमा १ खर्ब ६३ अर्ब ८७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र ८ अर्ब १७ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
यसैगरी माघमा मोबाइल बैकिङमार्फत ४० अर्ब ३५ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ । गत माघमा ३८ अर्ब ५९ करोड बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङमार्फत १ करोड ८२ हजार पटक कारोबार भएको छ ।
इन्टरनेट बैंकिङमार्फत ८ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेटमार्फत १० अर्ब १८ करोड बढीको कारोबार भएको छ । गत माघमा वालेटमार्फत ९ अर्ब ९४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ ।
यसैगरी गत माघमा अनलाइन (इ–कमर्श) बाट ९३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ । गत माघको तुलनामा इ–कमर्शको कारोबारमा २ करोड ८० लाखले कमी आएको हो । इ–कमर्शबाट फागुनमा रु ९० करोड ४० लाख बराबरको कारोबार भएको छ । रासस