काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) कै कारण नेपालको पुरानो पाँचतारे होटल अन्नपूर्ण बन्द भयो । धेरै श्रमिकहरू रोजगारविहीन भए भने धेरैले आफ्नो पेशा व्यवसायबाट पलायन नै हुन पुगे ।
धेरै नेपालीहरू विदेशबाट बेरोजगार भएर फर्किए भने धेरैले ज्यान पनि गुमाए । सरकारले २०७६ चैत ११ गतेबाट बन्दाबन्दी(लकडाउन)को घोषणा गर्यो । त्यसपछि करिब ६ महिनासम्म नागरिकहरू घरभित्रै थुनिए भने धेरैको पेशा व्यवसायमा ताल्चा लाग्यो । विशेष गरी पर्यटन क्षेत्रसँग सम्बन्धित रहेका होटल, ट्राभल ट्रेकिङ क्षेत्र, हवाई र यातायात क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो ।
सरकारी योजनाअनुसार २०२० लाई भ्रमणको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना भएकोले पर्यटन व्यवसायीहरू धेरै हौसिएका थिए । तर, उद्घाटन भएको तीन महिना नबित्तै कोभिडको असर विश्वभर देखिँदै गएको र नेपालमा पनि त्यसको प्रभाव देखिएपछि पूर्णरुपमा लकडाउन गरियो ।
जसको कारण पर्यटन क्षेत्रका लागि २०७७ पर्यटनका लागि दुर्भाग्यपूर्ण सावित भयो ।
ठूलो आशा र अपेक्षा साथ पर्यटन व्यवसायीहरूले गत वर्ष लगानी विस्तार गरेका थिए । ती आशालाई कोभिडलाई निराशामा बदलेको होटल एसोसिएसन अफ नेपाल(हान)का प्रथम उपाध्यक्ष एवं एअपोर्ट होटलका सञ्चालक विनायक शाहको भनाइ छ । कोभिडका कारण पाँचतारे होटल अन्नपूर्ण बन्द हुनु पर्यटनका लागि ठूलो क्षति भएको उनको भनाइ छ ।
योसँगै अन्य होटलहरू पनि समस्यामा परेको बताउँदै सरकारको सहयोगले अन्य होटलहरू भने बन्द हुने अवस्थाबाट जोगिएको बताए । अहिले कोभिडबाट कसरी जोगिने र अरुलाई कसरी जोगाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय उपायहरू अवलम्बन गरेर केही नयाँ सिकाइसमेत उपलब्धिका रुपमा आएको उनको भनाइ छ ।
अहिले फेरि आएको दोस्रो चरणको कोभिडले भने कतिसम्म असर पुग्छ भन्ने आंकलन गरी नसकेको उनले बताए । तर, स्वास्थ्य सम्बन्धीका मापदण्डहरू पूर्ण रुपमा कार्यान्वयनमा ल्याएर भए पनि व्यवसाय सञ्चालन गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्(नाट्टा)का अध्यक्ष अच्युत गुरागाइंले २०७७ पर्यटन क्षेत्रका लागि सबैभन्दा दुखद् वर्षको रुपमा सावित भएको बताए । २०७२ को भूकम्पको बेलाभन्दा अहिले बढी असर गरेको उनको भनाइ छ । कोभिडकै बीचमा सरकारले गर्नुपर्ने काम नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नाट्टाले आन्तरिक पर्यटन चलायमान बनाउन विभिन्न काम गरेको बताउँदै आन्तरिक पर्यटनमा केही राहत पुगेको छ,उनले भने ।
एकातिर कोभिडले थला पारेको र अर्कोतर्फ सरकारले असहयोग गर्दा गर्दै पनि निजी क्षेत्रको हरप्रयासमा आफ्ना सदस्यहरूलाई बचाउनका लागि प्रयास गरेको र पर्यटनलाई पनि बचाउन अहम भूमिका खेलेका छौं, अध्यक्ष गुरागाईंले भने ।
वायुसेवा सञ्चालक संघका उपाध्यक्ष एवम् फिस्टेल एयरका प्रवन्ध निर्देशक मनोज कार्कीले २०७७ आफूहरूका लागि दुर्भाग्यपूर्ण रहेको बताए । कोभिडका बीचमा हवाई यात्रुहरू बढेको देखे पनि भाडादर अत्यन्त न्यून रहेकाले कुनै नाफा भने नभएको उनको भनाइ छ ।
यस्तै हेलिकप्टर क्षेत्र त अहिले पनि कोमामै रहेको उनको टिप्पनी छ । विदेशी पर्यटक नआएसम्म हेलिकप्टर क्षेत्र चलायमान हुन नसक्ने बताउँदै त्यसका लागि अझै केही वर्ष लाग्ने उनको भनाइ छ ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान)का महासचिव सरिता लामाले ट्रेकिङ क्षेत्र अस्तव्यस्त भएको बताइन् । पछिल्लो समय केही आशा पलाएको बताउँदै फेरि दोस्रो चरणको कोभिडले भने त्रास बढाएको उनको भनाइ छ ।
सुरक्षाको मापदण्ड पूर्णरुपमा कार्यान्वयन गरेर व्यवसाय सञ्चालन गर्ने पक्षमा आफूहरू रहेको बताए । आफू र आफ्ना सदस्यहरूलाई सुरक्षाको प्रत्याभूति हुने गरी काम टानले गरिरहेको बताइन् ।