काठमाडौं । बैंकबाट प्रवाह हुने अन्य कर्जामा सुस्तता देखिए पनि मार्जिन कर्जा लिनको संख्या ह्वात्तै बढेको छ । गत वर्षदेखि सेयर बजारमा उछाल आएपछि सेयर धितो राखेर लिने कर्जा गत वर्षको तुलनामा ८९ प्रतिशत पुगेको केन्द्रीय बैंकको तथ्यांकमा देखिएको छ ।
सेयर बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्नु, बैंकले एकल विन्दुमा ब्याजदर कायम गरेकाले सेयर धितो राखेर लिने कर्जा दोब्बरभन्दा बढी देखिएको छ । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म ८१ अर्ब ४१ करोड ७० लाख रुपैयाँ सेयर धितो राखेर कर्जा प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा ४६ अर्ब ३९ करोड ६० लाख रुपैयाँ मात्रै सेयर धितो राखेर कर्जा प्रवाह भएको थियो ।
वाणिज्य बैंकको यस्तो कर्जा वृद्धिदर ८९ दशमलव ५३ प्रतिशत रहेको छ । २७ वटा वाणिज्य बैंकहरूले गत आवको फागुनसम्म ३७ अर्ब १५ करोड १० लाख रुपैयाँ हाराहारीमा ऋण प्रवाह गरेका थिए । चालू आवको गत फागुनमा मार्जिन प्रकृतिको कर्जा ७० अर्ब ४१ करोड २० लाख रुपैयाँ पुगेको छ ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार समग्र वाणिज्य बैंकको यस्तो कुल कर्जा प्रवाहमा एनआईसीको अंश ८ दशमलव ९९ प्रतिशत छ । दोस्रो धेरै लगानी गर्नेमा ग्लोबल आईएमई बैंक हो । यसले ५ अर्ब ४९ करोड ६ लाख मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेको छ ।
सबैभन्दा कम यस्तो प्रकारको कर्जा प्रवाह गर्नेमा कृषि विकास बैंक देखिएको छ । उक्त बैंकको फागुनसम्ममा यस्तो कर्जा ९ करोड २९ लाख रुपैयाँ मात्र प्रवाह भएको देखिन्छ । तर, पछिल्लो समयसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैंकले भने मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेका छैनन् ।
यसैगरी १९ वटा विकास बैंकहरूको भने मार्जिन प्रकृतिको कर्जा प्रवाह ८ अर्ब ८३ करोड ८० लाख रुपैयाँ छ । तर, गत आवको फागुनसम्मको तुलनामा यो २९ दशमलव २५ प्रतिशत थप वृद्धि भएको हो । गत आवको सो अवधिमा यस्तो कर्जा ६ अर्ब ८३ करोड ८० लाख रुपैयाँ मात्र प्रवाह भएको थियो ।
वाणिज्य र विकास बैंकको यस्तो कर्जा वृद्धि बढे पनि वित्त कम्पनीको भने घटेको छ । गत आव फागुनमा २ अर्ब ४० करोड ७० लाख प्रवाह भएकोमा ९ दशमलव ९७ प्रतिशतले घटेर २ अर्ब १६ करोड ७० लाख रुपैयाँमा सीमित रहेको छ ।
कर्जाको ब्याजदर कम भएकाले यस्तो लगानी बढेको बैंकरहरू तर्क छ । विगतमा वाणिज्य बैंकहरूको मात्रै कर्जाको ब्याजदर दोहोरो ब्याजदर अर्थात् १३–१४ प्रतिशतसम्म पुग्ने गरेकोमा अहिले एकल विन्दुमा झरेको पनि लामै समय भइसकेको छ ।