काठमाडौं । कोभिड–१९ ले थलिएको पर्यटन पुनरुत्थान तथा प्रवर्द्धनका लागि चालिनु पर्ने कदम र भावी नीतिका विषयमा नेपाल पर्यटन बोर्डले छलफल अघि बढाएको छ ।
‘आजको पर्यटन चुनौती र अवसर’ विषयक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यो पटक बजेट निर्माणमा थुप्रै सीमितता भए पनि पर्यटन पुनरुत्थानका लािग बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए ।
उनले पहिले जस्तो अवस्था नभए पनि कोभिडले पर्यटन क्षेत्रलाई बढी प्रभावित गरेकाले यसको पुनरुत्थनाका लागि आफूले पहल गरेको बताए । ‘अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ । तर, कोभिडको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सर्तकताकासाथ अघि बढ्नुपर्ने अवस्था छ,’ उनले भने ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामेश्वर फुयाँलले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रैकै मेरुदण्डका रुपमा विकास गर्ने गरी योजना बनाइए पनि बजेट अभावमा त्यसको कार्यान्वयन जटिल बनेको बताए ।
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अहिलेको परिस्थिति पहिलेभन्दा फरक रहे पनि सरकार निजी क्षेत्र मिलेर नै यसलाई अगाडि बढाउनु पर्ने अवस्था रहेको बताए । उनले आउने बजेटमा पर्यटन पुनरुत्थान र प्रवर्द्धनका लागि आवश्यक बजेटका लागि मन्त्रालयले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तरनिकाय समन्वय र बजेटको आवश्यक्ता भएको उल्लेख गरे । नेपाललाई सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तारदेखि पर्यटन मैत्री नीति आवश्यक भएको बताए ।
‘नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रवर्द्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको छु, सीईओ रेग्मीले भने त्यसका लागि सरकारले नीतगत रुपमा सहजीकरण गरेर निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ ।
बोर्डका निर्वतमान कार्यकारी प्रमुख दीपकराज जोशीले मन्त्रालयगत हुने कतिपय अन्य बजेट कटौती गरेर पनि यसको पुनरुत्थानलाई बजेट बिनियोजन हुनुपर्ने उल्लेख गर्दै भिजा फ्रिको अवधारणा पनि आवश्यक रहेको बताए ।