एजेन्सी । कम्युनिष्ट शासन भएको मुलुकमा व्यक्तिगत सम्पत्ति हुँदन । त्यहाँ व्यक्तिगत सम्पत्तिलाई निषेध गरी देशको अर्थतन्त्र, पुँजीलगायत सबै राज्यको नियन्त्रणमा हुन्छ । व्यक्तिगत सम्पत्ति राख्न र जोड्न पाइँदैन । सबै सम्पत्ति राज्यको हुन्छ । तर, कम्युनिष्ट मुुलुक चीनमा भने यस्ते छैन ।
त्यहाँ डलर अर्बपतिको संख्या बढ्दै गएको छ । फोर्ब्स म्यागजिनले नियमित प्रकाशित गर्ने अर्बपतिहरूको सूचीको नयाँ संस्करणमा चीनको बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपतिहरू भएको सहर बनेको छ।
चीनमा गत वर्ष ३३ जना अर्बपति थपिएपछि बेइजिङमा अर्बपतिको सङ्ख्या १०० पुगेको छ। विगत सात वर्ष सबैभन्दा धेरै अर्बपति भएको सहर अमेरिकाको न्यूयोर्कमा ९९ जना अर्बपति छन्।
चीनले कोरोना भाइरसलाई छिटै नियन्त्रणमा लिएको, प्रविधि कम्पनीहरूको सफलता र स्टक बजारका कारण न्यूयोर्कलाई पछाडि पार्न बेइजिङ सफल भएको हो।
धेरै धन कहाँ ?
धेरै धनाढ्य भए पनि अर्बपतिहरूको कुल सम्पत्तिमा न्यूयोर्क नै अगाडि छ। त्यहाँका अर्बपतिसँग बेइजिङका अर्बपतिभन्दा ८० अर्ब डलर बढी सम्पत्ति छ।
न्यूयोर्कका सबैभन्दा धनी व्यक्ति पूर्वनगरप्रमुख माइकल ब्लूमबर्गसँग ५९ अर्ब डलर सम्पत्ति छ। अघिल्लो संस्करणको तुलनामा चीनमा यो संस्करणमा २१० अर्बपति थपिएका छन्। फोर्ब्सको सूचीमा अहिले अमेरिकाका ७२४ अर्बपति छन् भने चीनका ६९८ अर्बपति छन्। सन् १९९० पछि चीनमा धनीहरुको संख्या बढ्न थालेको हो ।
गत वर्ष संसारभरिबाट ४९३ नयाँ अर्बपति थपिएका छन्। यसको अर्थ औसतमा प्रत्येक १७ घण्टामा एक अर्बपति थपिएका छन्। भारतमा १४० अर्बपति छन् जसले भारतलाई तेस्रो स्थानमा उभ्याएको छ।
संसारको सबैभन्दा धनी व्यक्तिका रूपमा एमजनका जेफ बेजोस छन्। गत वर्ष ६४ अर्ब सम्पत्ति बढेर उनको कुल सम्पत्ति १ खर्ब ७७ अर्ब डलर पुगेको छ।
दोस्रोमा टेस्ला गाडी कम्पनीका मालिक इलन मस्क रहेका छन । उनको सम्पत्ति बढेर १५१ अर्ब डलर पुगेको छ । तेस्रो स्थानमा बनार्ड अर्नाल्ड परिवारको १५० अर्ब डलर रहेको फोब्र्सले जनाएको छ ।
यस्तै विल गेट्सको १२४ अर्ब, मार्क जुगबर्गको ९७ अर्ब, वारेन्ट वफेटको ९६ अर्ब, ल्यारी इल्सनको ९३ अर्ब, ल्यारी पेजको ९१.५ अर्ब, सर्गेइन ब्रिनको ८९ अर्ब र भारतीय मुकेश अम्बानीको ८४.५ अर्ब डलर छ ।