काठमाडौं । वाणिज्य बैंकहरूले डलरमा गर्ने ऋण लगानी बढ्दै गएको छ । हालसम्म वाणिज्य बैंकहरूले १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको डलरमा ऋण लगानी गरेका छन् ।
चालू आर्थिक वर्ष साढे ८ महिनामा ४२ अर्ब रुपैयाँबराबरको ऋण लगानी भएको छ । नेपाल बैंकर्स संघकाअनुसार असार अन्तिममा ९७ अर्ब रुपैयाँ लगानी भएको थियो ।
साउनको सुरुवातमा विदेशी मुद्रामा हुने लगानी केही घटेजस्तो र स्थिर देखिए पनि मंसिरदेखि भने बढ्न थालेको हो । तर, माघदेखि भने उच्च रफ्तारमा विदेशी मुद्राको लगानी बढेको छ ।
सामान्यतय अहिले पनि नेपालीहरूलाई विदेशी मुद्रामा ऋण दिइँदैन । तर, विदेशी मुद्रा कमाउने संस्था र कम्पनीहरूले विदेशी मुद्रामै ऋण लिन पाउँछन् । खासगरी विमान कम्पनीहरूले विदेशी मुद्रामा ऋण माग गर्छन् ।
विमान कम्पनीहरूसँग निर्यात व्यवसाय गर्नेहरूले पनि विदेशी मुद्रामा ऋण माग गर्छन् । यस्तो अवस्थामा ‘डलर टु डलर’मा ऋण जान्छ । अर्थात् उनीहरूले कमाएको पैसा पनि डलर खातामै हुन्छ । विदेशी मुद्रामा लिइएको ऋणको ब्याज सस्तो हुन्छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले विदेशी मुद्रामा कारोबार गर्ने संस्था र कम्पनीहरूले आवश्यकता र औचित्यका आधारमा विदेशी मुद्रामै ऋण लिन सक्ने बताए । विमान कम्पनीहरूले विदेशी मुद्रा आर्जन गरेका हुन्छन् र तिनीहरूलाई विदेशी मुद्रामै ऋण दिन पाइने व्यवस्थाअनुसार विमान कम्पनीहरूले ऋण उपयोग गर्ने गरेको ढकालको भनाइ छ ।
विशेषगरी नेपाल वायुसेवा निगम(एनएसी)ले डलरमा धेरै ऋण लिने गरेको छ । सामान्यतयाः विदेशी मुद्रा कारोबारसँग सम्बन्धित र विदेशी मुद्रा आर्जन गर्ने, जाहाज र त्यसको पार्टपुर्जा किन्नुपर्ने अवस्थामा नेपाली रुपैयाँलाई साटेर डलरमा दिने गरिएको कार्यकारी निर्देशक ढकालको भनाइ छ ।
जुन अनुपातमा ऋण लगानी बढेको छ, त्यही रफ्तार विदेशी मुद्राको निक्षेप भने बढेको छैन । बैंकहरूमा चैत २० गतेसम्म १ खर्ब १५ अर्ब रुपैयाँ बराबरको निक्षेप बैंकहरूमा जम्मा भएको छ ।
यद्यपि गत साउनमा विदेशी मुद्रामा निक्षेप १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको थियो । माघ तेस्रो साता भने विदेशी मुद्राको निक्षेप घटेर १ खर्बमा सीमित भएकोमा त्यसपछि भने बढ्न थालेको संघले जनाएको छ ।