चरिकोट । दोलखामा पहिलो पटक स्वीमिङ पुल सहितको सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर १ कुथलीमा ५० रोपनी क्षेत्रफलमा करिब ३ करोड रुपैयाँ लागतमा शुभलक्ष्मी रिसोर्ट सञ्चालनमा आएको हो ।
सदरमुकाम चरिकोटमा सामुदायिक अस्पताल सञ्चालन गर्दै आएका अमृतबहादुर बुढाथोकीले ग्रामीण महिला कृषि फार्ममार्फत सो रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । कृषि र पर्यटनलाई सँगै जोड्ने उद्धेश्यका साथ रिसोर्ट भित्रै कालिज फार्म समेत सञ्चालनमा ल्याएका छन् ।
सदरमुकाम चरिकोटबाट ९ किलोमिटर उत्तरमा(सिगंटी सडक) पर्ने कुथली खोला नजिकै रहेको रिसोर्टमा आउने ग्राहकहरुलाई छानीछानी कालिजको मासु खान खुवाउने उद्धेश्यका साथ कालिज फार्म सञ्चालनमा ल्याएको सञ्चालक बुढाथोकीले बताए ।
योसँगै रिसोर्टमा उनले ट्राउट माछासमेत पालेका छन् । ट्राउट माछा पारखीहरुलाई लक्षित गरी पाल्न सुरु गरिएको उनले बताए । रिसोर्टभित्र आउने ग्राहकहरुलाई स्वीमिङसहित कालिजको मासु, लोकल कुखुरा र ट्राउट माछासमेत खाना पाउने छन् ।
कृषि र पर्यटनलाईसँगै जोड्ने उद्धेश्य रहेको उनी बताउँछन् । गाउँमा बाँझो रहेको पाखोबारीलाई सदुपयोग गरी बुढाथोकीले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । गाउँघरमा रहेको पाखोबारीलाई सदुपयोग हुने र दोलखामै केही नयाँ काम हुने भएकोले पनि रिसोर्ट सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।
२५ वटाभन्दा बढी कोठा रहने सो रिसोर्टको औपचारिक उद्धघाटन भने भइसकेको छैन । यद्यपी रिसोर्ट सञ्चालनमा आइसकेको छ । जिल्लामै स्वीमिङ पुलसहितको शुभलक्ष्मी पहिलो रिसोर्ट रहेकोले पनि धेरैको रोजाई त्यहाँ परेको छ । त्यसमा पनि विदा मनाउन र दोलखा घुमघाममा आउनेहरुको रोजाईमा पनि सो रिसोर्टमा परिरहेको छ ।
बजारमा भन्दा केही टाढा प्राकृतिक सुन्दरतासँगै झरनामा रमाउन चाहनेहरुको लागि उत्कृष्ट गन्तव्य बनेको बताइएको छ । राजधानीबाट नजिकको गन्तव्यको रुपमा दोलखा रहेकोले पनि बिदा मनाउन आउनेहरुको संख्या बढीरहेको छ । त्यसमा पनि कालिञ्चोक र भिमेश्वरको दर्शन गर्न आउनेहरुको संख्या बृद्धि भइरहेको बेला दोलखामा सुविधासम्पन्न होटल र रिसोर्टहरु नभइरहेको गुनासो बढिरहेको थियो ।
पछिल्लो समय दोलखामा सुविधासम्पन्न रिसोर्ट र होटलमा लगानी बढीरहेको छ । सदरमुकाम चरिकोटमै पहिलो पटक दुई तारे होटल एम्ब्रोसिया सञ्चालनको अन्तिम चरणमा रहेको छ ।