काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. धनन्जय रेग्मीले भारतीय पर्यटकलाई सडक मार्गबाट नेपाल ल्याउने योजना बनाएका छन् ।
भारतको राजधानी दिल्लीबाट नेपालमा गाडीमार्फत नै ५ घण्टामा आइपुग्ने भएकाले सडक मार्गबाट आउने पर्यटकलाई विशेष प्राथमिकता दिएर प्रचार प्रसारमा लाग्ने योजना उनले बनाएका हुन् ।
केही साताअघि भारतमा भएको साउथ एसियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागी भएका सीईओ रेग्मीले सडक मार्गमार्फत नेपालमा कसरी धेरै भारतीय पर्यटकहरू ल्याउन सकिन्छ भनेर त्यहाँका पर्यटन व्यवसायीहरूसँग छलफल गरेका थिए ।
भारतबाट विदेशमा घुम्न जानेको संख्या वार्षिक साढे दुई करोडभन्दा बढी छ । तीमध्ये १५ प्रतिशत मात्र भारतीय पर्यटकहरूलाई नेपालमा ल्याउन सकियो भने पर्यटनले अर्के गति लिने प्रक्षेपण सीईओ रेग्मीको छ ।
नेपालमा भारतबाट ३० वटा प्रवेश विन्दुबाट आउन सक्छन् । ती नाकाहरू खुला गरेर निर्वाद रुपमा भारतीय गाडीहरूलाई नेपाल प्रवेश गराउन सकिने भएकाले सबैलाई आफ्नो गाडी लिएर नेपाल आउन सक्ने वातावरण बनाउन सक्यो भने भारतीय पर्यटकहरूको ओइरो लाग्ने उनको तर्क छ ।
‘अब धर्मका लागि मात्र पशुपति लान्छु भनेर आउँदैनन् । पशुपति, स्वम्भू, बौधनाथ र दरबारस्क्वायर घुमाएर पठाउँछु भन्ने मानसिकता हटाउनुपर्छ, सीईओ रेग्मीले भने, त्यसका लागि पर्यटकीय गन्तव्यहरू र त्यस किसिमका गतिविधिहरू बढाउन आवश्यक छ ।’
काठमाडौं लगायतका पर्यटकीय स्थलहरूमा विभिन्न किसिमका क्लब, क्यासिनो, मसाजसेन्टर, स्वीमिङ पुललगायत यावत क्षेत्रहरू खुल्नुपर्छ ।
ती क्षेत्रले पनि पर्यटकहरूलाई वियर खाँदा एउटा मूल्य र खाएपछिको अर्को मूल्य गर्न भएन । सबै क्षेत्रले राम्रोसँग पर्यटकलाई आधारसम्मान गर्न सक्यो भने पर्यटकको कमी यहाँ हुने छैन, उनले भने ।
नेपालमा यी सबै क्षेत्रहरू छन् भन्ने कुरा अधिकांश भारतीय पर्यटकहरूलाई नभएको उनले बताए । ‘अहिले त्यहाँका धेरै टुरअपरेटरहरूले नेपालको प्रचार नगर्नुको मुख्य कारण भनेको बूढाबूढीलाई पशुपति घुम्न जाउँ भनेर ल्याउन पनि कोभिडको जोखिम छ, सीईओ रेग्मीले भने जुन उमेर समूहका घुम्न निस्कन चाहनेहरूको जमात छ, उनीहरूलाई मुक्तिनाथ र जनकपुरसँग मतलब नै छैन, छ त नाइट क्लब, वियर बार, र्याफ्टीङ, र एडभेन्चर गतिविधि चाहिएको छ ।’
र, हामीसँग यी सबै सुविधाहरू यहाँ छ तर, उनीहरूलाई यो विषयमा जानकारी नै नभएकाले त्यहाँका ५० वटा टुरकम्पनीसँग छलफल गरेर नेपालको विषयमा जानकारी गराएर आएको छ, सीईओ रेग्मीले भने । नेपालमा भारतीय पर्यटकहरूलाई कहाँ–कहाँ घुमाउन सकिन्छ भन्ने परिचयात्मक भ्रमणका लागि त्यहाँ १ सयभन्दा बढी पर्यटन व्यवसायी र टुरअप्रेटरहरूलाई नेपालमा निम्तोसमेत दिएर आइसकेका छन् । उनीहरू यहाँ आएर गएपछि भने भारतीय पर्यटकहरू धेरै आउने अपेक्षा बोर्डको छ ।
हामीलाई अरु बन्द भएर भारतमात्र खुला भइदिए पुग्छ । सरकारले कोभिडको खोप लगाएका र ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरूलाई प्रवेश गर्न दिने निर्णय भइसकेकाले अब सहज हुने उनको भनाई छ ।