काठमाडौं । कोभिड–१९ को खोपका लागि विश्व बैंकले नेपाललाई ७.५ डलर अर्थात करिब ७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएकाे छ । जनसंख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंकले नेपाललाई उक्त सहयोग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशीरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका थिए ।
‘कम्तीमा पनि ७ सय २५ नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत् योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण र समय-सान्दर्भिक सहयोग पुर्याउँनेछ,’ अर्थ सचिव शिशीर कुमार ढुंगानाले भने, ‘कोभिड–१९ महामारीको स्वास्थ्यसम्बन्धी प्रतिकार्यका लागि कोभिड–१९ विरूद्घका खोपहरूको खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्न यो अतिरिक्त वित्तीय सहयोग उपयोगी हुनेछ ।’
गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रूपैंया) बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजना मै यस अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछन ।
अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरिद, आपुर्ति र वितरणलाई सघाउनेछ । बाँकी रकमले कोभिड(१९ संक्रमणको परीक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिनेछ ।
कोभिड–१९ विरूद्धका खोपहरूको माग र स्विकार्यताको सुधार गर्न सामुदायिक संलग्नता र जोखिम संचारलाई प्रवर्द्धन गर्नेछ । र, आयोजनाको कार्यान्वयन, अनुगमन र मूल्यांकन, र सिकाइलाई पनि बढावा दिनेछ ।
‘कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच विस्तार गर्नु नेपालमा महामारीबाट जिवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण छ,’ मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद(जर्भोसले भने, ‘विश्व बैंक नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढीकरण, र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न प्रतिबद्ध छ ।’
विकासशील देशहरूका लागि आर्थिक कोष र ज्ञानको ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशिल देशहरूलाई यस महामारीका स्वास्थ्यसम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ।
यसअन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड–१९ का खोपहरूको खरिद, वितरण, परिक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि बैंकले स्थापना गरेको १२ अर्व डलरको प्याकेज अन्तरगत यो सहायता प्राप्त भएको हो ।
वित्तिय सहयोग विश्व बैंक समूहस्तरिय बृहत कोभिड–१९ प्रतिकार्य अन्तर्गत पर्छ जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीहरूलई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसहरूका लागि जिविकोपार्जन तथा रोजगारीका अवसरहरू कायम राख्नका लागि सहयोगी वातावरणको सिर्जना गर्न सहयोग गरिरहेको छ ।