काठमाडौं । एक करोड रुपैयाँसम्म लगानी गरी लघु, साना एवम् मझौला उद्यम (एसएमई)हरुमा दिनुपर्ने ऋणको लक्ष्य भेटाउन बैंकहरु असफल भएका छन् ।
चालू वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले १ करोड रुपैयाँभन्दा कम रकमका यस्ता कर्जाहरु कुल ऋण लगानीको ११ प्रतिशत पुग्नुपर्ने व्यवस्था गरे पनि बैंकहरुलाई लक्ष्य भेटाउन मुस्किल भएको छ ।
बैंकरहरुका अनुसार यस वर्ष तोकिएको सीमामा लघु, साना तथा मझौला उद्यका क्षेत्रमा कर्जा लगानी गर्न गाह्रो छ । बैंकहरुको मुख्य वित्तीय सूचक अनुसार २०७७ असोजसम्म औसत ६.२३ प्रतिशत मात्रै कर्जा गएको छ ।
त्यसपछिको अवधिमा पनि उल्लेखीय कर्जा स्थिति छैन । केन्द्रीय बैंक र बैंकहरुले पनि हालसम्म ६ प्रतिशतकै औसतमा एसएमई कर्जा गएको बताइरहेका छन् । यस आधारमा हेर्दा अबका तीन महिनामा झण्डै अहिलेसम्म गएको ऋण बराबरको रकम थप लगानी गर्न असम्भव जस्तै छ ।
अझ कुल कर्जा लगानी वृद्धि भइरहँदा त्यसको हिस्सा पनि थप जोडिँदै जाने अवस्था आउँछ । यसले बैंकहरुले तोकिएको ११ प्रतिशत लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा कर्जा लगानी गर्न निकै चुनौतीपूर्ण छ ।
असोजसम्मको तथ्यांकले बैंकहरुको एसएमई ऋण नाजुक अवस्थामा रहेको देखाउँछ । औसतमा ६.२३ प्रतिशत एसएमई गएकोे देखिए पनि कतिपय बैंकहरुको भने शून्य प्रतिशत बराबरकै हैसियतमा छ । सबैभन्दा बढी एमएमई कर्जा लगानी गर्नेमा राष्ट्रिय वाणिज्य बैंक ३०.४७ प्रतिशत छ भने निजीतर्फको बैंकहरुमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकले १६.९१ प्रतिशत कर्जा प्रवाह गरेको छ ।
तर, केन्द्रीय बैंकले भने तोकिएको सीमामा लगानी गर्नुपर्ने र नगरे बैंकरहरुलाई कारबाहीको भागिदार हुन सचेत गराइरहेको छ । यद्यपि बैंकरहरुले यो शीषर्कको सीमामा पुनरावलोकन गर्न माग गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले अझै तीन महिना बाँकी रहेकोे र यो बीचमा धेरै प्रगति हुने बताए । ‘बैंकरहरुले असार मसान्तसम्म तोकिएको सीमाभित्र कर्जा प्रवाह गर्नेमा विश्वस्त छु,’ ढकालले भने । यदि बैंकले तोकिएको सीमामा कर्जा प्रवाह नगरे असार मसान्तको अन्त्यतिर केन्द्रीय बैंकले आवश्यक निर्णय लिने ढकालको भनाइ छ ।
बैंकर एसोसिएसनका अध्यक्ष भुवन दाहालले चालू आर्थिक वर्षभित्र ११ प्रतिशत कर्जा प्रवाह गर्न कठिन रहेको बताए । यस विषयमा केन्द्रीय बैंकले पनि चासो लिएको छ । बिहीबार यसै विषयलाई लिएर केन्द्रीय बैंकले अन्तरक्रिया कार्यक्रम राखेको थियो ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले केही रिल्याक्ससेसन दिन केन्द्रीय बैंकलाई आग्रह गरेको बताए । केन्द्रीय बैंकका अधिकारीले अझै ३ महिना बाँकी रहेको र अहिलेसम्म ६ महिनाको रिपोर्टमा ६ प्रतिशत मात्रै कर्जा प्रवाह भएको देखिएको छ ।