टिकापुर । कैलालीमा तोरी उत्पादन बढेको छ । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्बरले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए ।
औसतमा तोरी प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ । “गत वर्ष प्रतिहेक्टर छ क्विन्टलका दरले तोरी उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १२ क्विन्टलसम्म उत्पादन भएको छ”, उनले भने , “गत वर्ष तोरीखेती भएको हिउँदे मौसममा अधिक वर्षा हुँदा तोरीसँगै अन्य बालीको उत्पादनमा कमी आएको थियो । यस वर्ष मौसम अनुकूल रहेकाले गत वर्षभन्दा दोब्बरले उत्पादन बढेको छ ।”
यस वर्ष तोरी बाली मात्र होइन अन्य बाली पनि राम्रो उत्पादन हुने देखिएको प्रमुख शर्माको भनाइ छ । तोरी बाली उत्पादन राम्रो भएपछि यहाँका किसान खुशी भएका छन् । कैलालीको जानकी गाउँपालिकाका किसान सन्देश चौधरीले यस वर्ष १२ क्विन्टल तोरी बिक्री गरे । प्रतिक्विन्टल १० हजारका दरले बिक्री गरेका सन्देशले १ लाख २० हजार रुपैयाँ आम्दानी गरे ।
“चार बिघा जमीनमा तोरीखेती गरेको थिए । तोरी राम्रो उत्पादन भयो”, उनले भने, “घरमा आवश्यक तोरी राखेर बाँकी बिक्री गरे । यस वर्ष तोरीखेतीले सन्तुष्टि दिएको छ ।”
सन्देश जस्तै अन्य किसान पनि तोरी उत्पादन र बजार मूल्य राम्रो पाएपछि खुशी भएका हुन् । तोरीखेती स्याहारेका अधिकांश किसान त्यही तोरीखेतीमा छरेको मसुरो स्याहार्न थालेका छन् । गत वर्ष तोरी उत्पादन कम भएका कारण कैलालीमा तोरीको तेल पाउनसमेत कठिन भएको थियो ।
कैलालीका मिल सञ्चालकले यस वर्ष तेल बिक्रीका लागि आवश्यक तोरी भण्डारण गरिसकेका छन् । “गत वर्ष हामीले तेल बिक्रीका लागि तोरी पाएनौँ, तेल पेलेर बिक्री गर्ने मिलमा कारोबारसमेत भएन ।
२०० रुपैयाँ प्रतिलिटर बिक्री हुने तेल तोरी अभाव भएपछि २५० मा बिक्री गर्दा पनि तेल अभाव भयो”, मिल सञ्चालक रवीन्द्र धामीले भने, “यस वर्ष एक गोदाम तोरी भण्डारण गरेको छु । मेरो त व्यवसाय नै तोरीको तेल बिक्री गर्ने हो । पछि अभाव हुन्छ भन्ने डरले तोरीको भण्डारण बढाएको छु ।”
कैलालीमा २० हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको छ । मल र सिँचाइको उपलब्धताले तोरीको उत्पादनमा भरपर्ने भएकाले यस वर्ष करीब २० हजार टन उत्पादन भएको केन्द्र प्रमुख शर्माको भनाइ छ ।
“तोरीखेतीको उत्पादकत्व बढाउनका लागि नयाँ प्रविधि, उन्नत जातको बीउको प्रयोगलेसमेत प्रभाव पार्ने गर्दछ”, उनले भने, “पछिल्लो समय किसानसमेत बीउ, मल र प्रविधि प्रयोगका सवालमा सचेत बन्न थालेका छन् ।”
किसानले लगाउने बालीको उत्पादन हरेक वर्ष घटबढ हुने गरेको हुन्छ । मौसम अनुकूलता, सिँचाइ व्यवस्थापन, मल, बीउलगायतमा तालमेल मिलेमा उत्पादन बढी लिन सकिने कृषि विज्ञको सुझाव छ । रासस