काठमाडौं । अर्थतन्त्रका अधिकांश क्षेत्रहरू पुरानै लयमै फर्किसकेका छन् । देशमा कोरोना महामारीको सन्त्रास विस्तारै कम हुँदै गएसँगै उत्पादनमूलक क्षेत्रले आफ्नो लय समातिरहेको छ । तर, पर्यटन क्षेत्र बौरिनै सकेको छैन ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित होटल र हवाई क्षेत्र बन्यो । विश्वभर महामारीकै रूपमा कोरोना फैलिएपछि त्यसको असर तत्काल र दीर्घकालीन रूपमा पर्यटन क्षेत्र पर्यो ।
बैंकलाई बुझाउनुपर्ने सावाँ ब्याज, कर्मचारीलाई दिनुपर्ने सेवा सुविधालगायत खर्चसमेत उठाउन होटलहरूलाई धौ–धौ परिरहेको छ । विगत एक वर्षदेखि होटलका ९५ प्रतिशत कोठा खाली छन् । अर्बौं रुपैयाँ लगानी गरेर खुलेका होटलहरू दिनको २ सय कप कफी मात्र बेचिरहेका छन् । होटलको ‘फिक्स कस्ट’ लागिरहेको छ ।
दयनीय अवस्थाबाट गुज्रिएको होटल क्षेत्रका लागि ब्याङ्क्वेट प्रमुख आम्दानीको स्रोत बनेको छ । अहिले तारेदेखि स–साना होटलहरूको प्रमुख आम्दानीको स्रोत ब्याङ्क्वेट हो । ‘होटल सोल्टी, भिभान्ता, समिटको मुख्य आम्दानी ब्याङ्क्वेटबाट भइरहेको छ,’ नेपाल इन्टरप्राइजेज् (एनई) समूहका प्रवन्ध निर्देशक रविभक्त श्रेष्ठले भने, ‘हामीले लगानी गरेको होटलको मात्रै होइन, सम्पूर्णको अवस्था त्यही हो ।’
५ देखि १० वटा कोठा पनि बेच्न सकिएको छैन । लाखौं रुपैयाँ दैनिक खर्च छ । अन्तर्राष्ट्रिय उडान पूर्णरूपमा बन्द छ । दोस्रो चरणको कोरोनाको सन्त्रास धुवाँसरी फैलिएको अवस्थामा आगामी दिन होटलका लागि झन् कस्टकर हुने श्रेष्ठको अनुमान छ ।
अहिले होटल सोल्टीको प्रमुख आम्दानी ब्याङ्क्वेटबाट भइरहेको छ । समिटको अवस्था पनि त्यही हो । भिभान्ताले पनि ब्याङ्क्वेटबाट राम्रो आम्दानी गरिरहेको उनको भनाइ छ ।
काठमाडौं म्यारियटका सञ्चालक तथा एमएस समूहका प्रबन्ध निर्देशक शशिकान्त अग्रवालका अनुसार ब्याङ्क्वेटले नोक्सान कम गराउन केही सहयोग गरेको बताए । ‘यत्रो ठूलो होटलको मेन्टिनेन्स खर्च नै ठूलो हुन्छ,’ उनले भने, ‘केही नहुनुभन्दा ब्याङ्क्वेटबाट भएको आम्दानीलाई राम्रो त मान्नै पर्यो । तर, त्यसले केही हुँदैन ।’
कतिपय पुराना होटलको खर्च नयाँको तुलनामा अत्यधिक छ । पुराना होटलमा कर्मचारी पनि बढी छन् । उनीहरूलाई टिक्न झन कठिन भएको लगानीकर्ताहरू बताउँछन् ।
एकातिर कोरोना कहरबाट होटलहरू सफर गरिरहेका छन् । यस्तो अवस्थामा सरकारले २० प्रतिशतभन्दा बढी विद्युत्को महसुल लिइरहेको छ । कठिन परिस्थितिमा सरकारी तवरबाट राहत दिएर संकटग्रस्त अवस्थामा रहेको होटल क्षेत्रलाई बचाउनुपर्नेमा उल्टै होटलसँग बिजुलीको मूल्य महँगो लगाइएको छ ।
सांग्रिला होटलका सञ्चालक प्रसिद्धबहादुर पाण्डेका अनुसार अहिले ब्याङ्क्वेटले केही हदसम्म भरथेग गरेको बताए । ‘कुनै समय ब्याङ्क्वेटबाट हुने आम्दानीको हिस्सा अत्यधिक कम लाग्थ्यो ।
अहिले त्यही धेरै लाग्न थालेको छ,’ उनले भने, ‘होटलको रुम बेचेरै आम्दानी हुने हो । त्यसबाहेक सेमिनार, गोष्ठीबाट हुने आम्दानीको हिस्सा पनि ठूलो हुन्छ । अहिले न रुम बिक्री भएका छन् । न सेमिनार तथा गोष्ठी गरिएको छ ।’