काठमाडौं । सौर्य एयरलाइन्स अब ‘फुलफेज’ उडानका लागि तयार भएको छ । एउटा जहाजबाट मात्र उडान गर्दै आएको सौर्यले अब तीनवटै विमान सञ्चालन गर्ने भएको हो ।
इन्जिनमा समस्या आएपछि कोरोना भाइरसको संक्रमण अगावै ग्राउण्डेड गरिएको थियो । अहिले ती जहाजहरूको इन्जिन ल्याइसकिएको छ ।
अमेरिकाबाट जहाजको नयाँ इन्जिन ल्याएसँगै वैशाखको अन्तिम सातामा तीनवटै जहाज सञ्चालन गर्न आवश्यक तयारी भइरहेको एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिए ।
कोरोना भाइरसको कारण विदेशबाट इन्जिन सहितका सामानहरू ल्याउन ढिलाइ भएकै कारण उडानमा समस्या भएको बताउँदै वैशाखको पहिलो सातादेखि २ वटा जहाज उडान हुने बताए ।
सौर्यको एउटा जहाजले मात्र उडान गर्दै आएको छ । पहिलो सातादेखि अर्को जहाज सञ्चालन गर्न तालिका स्वीकृतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) मा आवेदन पठाइसकिएको उनले जानकारी दिए ।
एउटा जहाज तयार पारेपछि अर्को तयार पार्न केही समय लाग्ने भएकाले वैशाखको अन्तिम साताभित्रमा सबै जहाज उडान गर्ने सौर्यको तयारी छ ।
आधुनिक जेट इन्जिन भएको सौर्यको जहाज सुविधायुक्त छ भने अन्यभन्दा छिटो पुगिन्छ ।
५० सिट क्षमता भएको सीआरजे २०० जहाजले वैशाखको पहिलो सातादेखि ८ वटा गन्तव्यमा उडान गर्ने तालिका तयार पारिएको बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए ।
सौर्यले दैनिक भद्रपुरमा एक, विराटनगरमा ३, धनगढीमा १, नेपालगन्जमा १ र भैरहवामा २ उडान गर्ने भएको छ ।२०७१ मंसिरबाट चार्टर उडान सुरु गरेको एयरलाइन्सले २०७४ बाट नियमित उडान सुरु गरेको थियो ।