काठमाडौं । ललितपुरमा रहेको होटल समिटले ‘समिट वुमन अफ दि इयर २०२१’ अवार्ड ३० वर्षभन्दा मुनिका महिलालाई वितरण गरेको छ ।
व्यवसायमा सफल र समाजमा सकारात्मक प्रभाव पारेका महिलाको सम्मानका लागि ‘सीजी हस्पिटालिटी’ अन्तर्गतको होटल समिटले अवार्ड वितरण गरेको हो ।
उद्यमशीलतामा प्रवेश गर्दै गरेका महिलाहरूलाई विभिन्न सामाजिक, राजनीतिक र आर्थिकलगायत व्यावहारिक बाधा–अड्चनबीच कसरी सफलता हासिल गर्न सकिन्छ भनेर उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल समिटले जनाएको छ । होटल समिटले इभेन्ट म्यानेजमेन्ट कम्पनी ओपन स्पेस नेटवर्कसँगको सहकार्यमा बुधबार कार्यक्रम आयोजना गरेको हो ।
अवार्डका लागि १ सय ७० आवेदन परेका थिए, जसमा २६ सर्टलिस्ट भएका थिए । तीमध्ये जया राजभण्डारी (ट्वीङ्कल्स), यजश्वी राई (लेकलेख द ग्रिन वेभ), अरुणिमा श्रेष्ठ र उरुषा श्रेष्ठ (टिटोफ्रिटो फुड्स), अदिती गोयल (लर्न इन्फिनिटी) र विनिता पोखरेल (प्योर जोय) अन्तिम ५ मा छनोट भएका थिए ।
‘टिटोफ्रिटोफुड्स’का जुम्ल्याहा दिदीबहिनी अरुणिमा श्रेष्ठ र उरुषा श्रेष्ठलाई ‘समिट वुमन अफ दि इयर २०२१’ घोषणा गरिएको थियो । ‘टिटोफ्रिटोफुड्स’ स्थानीय कृषिउपज प्रशोधन गर्ने स्टार्टअप हो ।
अवार्ड निर्णायकमा नबिल बैंकका सीईओ अनिलकेशरी शाह, होटल एसोसिएसन अफ नेपाल (हान)की अध्यक्ष सिर्जना राना, आईडीईका नेपाल निर्देशक कोरे ओ’ हारा र गोल्डस्टारकी मार्केटिङ/डिजाइन निर्देशक विदुषी राणा रहेका थिए ।
अवार्ड घोषणापछि सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक (सीईओ) राहुल चौधरीले प्रतिभावान महिलाहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । “युवावस्थामै नवीन व्यावसायिक सोच लिएर सफलताको सिँढी चढ्दै गरेका महिलालाई सम्मान गर्न पाउँदा हामीलाई गर्व लागेको छ,” उनले भने, “यसले भविष्यमा अझ राम्रो गर्न उनीहरूमा उत्प्रेरणा जगाउनेछ ।”
इभेन्ट म्यानेजमेन्ट कम्पनी ओपन स्पेस नेटवर्ककी सीईओ फाइजा परविनले आफूहरू सधैं महिलाको आर्थिक आत्मनिर्भरताका लागि प्रयासरत रहेको बताइन् । “महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर भएमात्र समतामूलक समाज बन्न सक्छ,” उनले भनिन्, “त्यस्तै आत्मनिर्भर महिलालाई सम्मान गर्न पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ ।”