काठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ को ९ महिनाको अवधिमा राष्ट्रिय प्रणालीमा ६९ मेगावाट बिजुली थपिएको छ । निजी क्षेत्रबाट प्रवद्धित विभिन्न ९ वटा आयोजनाबाट ६९ मेगावाट बिजुली थप भएको हो । चालू आवको साउनदेखि मध्य चैतसम्ममा ९ वटा विद्युत् आयोजना राष्ट्रिय प्रणालीमा जोडिएका छन् ।
साउनयता एउटा चिनी उद्योग, २ सौर्य ऊर्जा र ६ जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो । योसमेत गरी निजी क्षेत्रबाट १०६ वटा आयोजना निर्माण भई ७६४ मेगाावट बिजुली उत्पादन भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार ९९७ किलोवाटको हाँडीखोला सुनकोसी ‘ए’, ३ मेगावाटको अपर रावाखोला, ११.८ मेगावाटको नामार्जुन मादी, ८.५ मेगावाटको बुटवल सोलार प्रोजेक्ट, ५ मेगावाटको घट्टेखोला, ३ मेगावाटको एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज लिमिटेडको आयोजना, ४.५ मेगावाटको विजयपुर–२ खोला(सानो), १० मेगावाटको मिथिला सोलार पीभी इलेक्ट्रिक आयोजना र २२ मेगावाटको चाकु ‘ए’ जलविद्युत् परियोजना सम्पन्न भई राष्ट्रिय ग्रीडमा जोडिएका छन् ।
चाकु ‘ए’ आयोजनाबाट चैत ८ गतेदेखि बिजुली उत्पादन सुरु भएको हो । यस्तै ४२ मेगावाटको मिस्त्रीखोला आयोजनाबाट पनि विद्युत् उत्पादन हुने तयारीमा छ । कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि परीक्षण उत्पादन रोकिएको छ । आयोजनाबाट वैशाख १ गतेदखि व्यावसायिक रूपमा बिजुली उत्पादन थाल्ने जानकारी गराएको थियो ।
यो पनि हेर्नुहोस
कोरोनाले विद्युत् उत्पादन लक्ष्यमा धक्काः यस वर्ष ७०० मेगावाट मात्रै थपिने
आर्थिक वर्ष सकिन ३ महिना बाँकी छ । चालू आवमा सरकारले १५०० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा थपेर जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको थियो । तर, कोरोना भाइरस महामारीका कारण निर्माणको अन्तिम चरणमा रहेका धेरैजसो आयोजना नराम्रोसँग प्रभावित बने । अर्थात, निर्माण सामग्रीको ढुवानी र जनशक्ति अभाव हुँदा काम भएन ।
कोभिड–१९ का कारण विदेशी कामदार आयोजना स्थलमा नफर्कंदा र विदेशबाट ल्याउनुपर्ने मेसिन तथा उपकरण सीमा/नाकामै अड्किँदा अधिकांश जलविद्युत् आयोजना प्रभावित बनेका छन् ।
फलस्वरूप, ती जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन मिति(आरसीओडी) तोके पनि अहिले निर्माण सम्पन्न गर्न नसकिने भन्दै प्राधिकरणमा निवेदन दिन थालेका छन् । यसले गर्दा सरकारले चालू आवमा लिएको विद्युत् उत्पादन लक्ष्यमा समेत धक्का लाग्ने देखिन्छ ।
यो पनि हेर्नुहोस
कोरोना महामारीका बीचमा दर्जन जलविद्युत् आयोजना सम्पन्न, थपियो ८६ मेगावाट बिजुली
चालू आवमा निकै आशा गरिएको ४५६ मेगावाटको माथिल्लो तामाकोसीको आउँदो वैशाखभित्र पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुने लक्ष्य लिइएको छ । असारसम्म सबै युनिटबाट बिजुली उत्पादनको तयारी भइरहेको छ ।
कोरोनाका कारण अधिकांश जलविद्युत् आयोजना प्रभावित भएपछि चालू आवमा कम्तीमा ६ सयदेखि ७ सय मेगावाट मात्रै बिजुली उत्पादन हुने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यसअघि नै बताएका थिए ।
तर, उनले भने बमोजिम पनि बिजुली उत्पादन हुने सम्भावना निकै कम छ । किनभने, प्राधिकरणको सहायक कम्पनी चिलिमे हाइड्रोपावर अन्तर्गतका १११ मेगावाटको रसुवागढी र ५७ मेगावाटको तल्लो र माथिल्लो सान्जेन जलविद्युत् आयोजना पनि चालू आवमा सम्पन्न हुने अवस्थामा छैनन् । अन्य जलविद्युत् आयोजना पनि कोरोना भाइरसको कारणले थलिएका छन् ।
कोरोना महामारीका बीचमा १२ वटा जलविद्युत् आयोजनाबाट झन्डै ८६ मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।
उनका अनुसार, चैत सुरु भएदेखि असार मसान्तसम्म ५६.६ मेगावाटका ७ वटा जलविद्युत् आयोजना सम्पन्न भए । साउनदेखि हालसम्म ५ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर २९.३७ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको प्रवक्ता तिम्सिनाले क्यापिटल नेपाललाई जानकारी दिए ।
कोरोना महामारीका बीचमा चैत सुरु भएदेखि असार मसान्तसम्म ६.६ मेगावाटको रुदीखोला ‘बी’ जलविद्युत् आयोजना, ५ मेगावाटको घलेम्दीखोला, ७.५ मेगावाटको अपर खोरुङ्गा, ६०० किलोवाटको झाँक्रेखोला(सानो), २३.५ मेगावाटको सोलुखोला, ९.६ मेगावाटको सुपर माई ‘ए’ र ३.८ मेगावाटको सुपर माई(क्यासकेड) जलविद्युत् आयोजना सम्पन्न भई विद्युत् उत्पादन भएको हो ।
त्यस्तै, साउन सुरुदेखि मंसिर १६ गतेसम्म आइपुग्दा ९९७ किलोवाटको हाँडीखोला ‘ए’, ३ मेगावाटको अपर रावा, ११.८८ मेगावाटको नामार्जुन मादी, ८.५ मेगावाटको बुटवल सोलार प्रोजेक्ट र ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजना सम्पन्न भएको हो ।
हाल निजी क्षेत्रका आयोजनाबाट ७४२ मेगावाट र विद्युत् प्राधिकरणको स्वामित्वका कम्पनीबाट ६३५ मेगावाट विद्युत् उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा १९३ मेगावाट बिजुली ग्रीडमा जोडिएको थियो । समीक्षा अवधिमा सरकारले १ हजार मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा थपिने प्रक्षेपण गरेको थियो ।
आउँदो ३ महिनामा ९.५ मेगावाटको माईबेनी, ३.२ मेगावाटको गेलुन खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ प्रणालीमा जोडिने संभावना छ ।२७ मेगावाटको दोर्दी खोला, ५२.५ मेगावाटको लिखु–४ बाट र ३० मेगावाटको न्यादी आयोजनाहरूले पनि असारसम्म बिजुली उत्पादन गर्ने भएका छन् ।