काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति नजिकिँदै गए पनि हालसम्म जहाज कहाँबाट अवतरण गराउने भन्ने विषय अझै टुंगो लगाउन सकेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अबको तीन महिनाभित्र विमानस्थल सञ्चालन योग्य हुन्छ । त्यसको तीन महिनाभित्र जहाज उडान गर्न सकिन्छ । विमानस्थल निर्माण अन्तिम चरणमा पुगिसक्दा पनि जहाजहरु कहाँबाट अवतरण गर्ने विषयमा प्राधिकरणले टुंगो लगाइसकेको छैन ।
भारतले एयर रुटको अनुमति अहिलेसम्म दिएको छैन । दुई वर्षअघि नै दुई देशबीच भएको दुई पक्षीय छलफलमा विमानस्थलमा जहाज अवतरणका लागि नयाँ रुट दिने मौखिक सहमति भएको थियो । हालसम्म यस विषयमा लिखित सम्झौता भएको छैन । भारतले एयर रुट कहिले दिने भन्ने जानकारीसमेत गराएको छैन ।
सुरक्षाको कारण देखाउँदै भारतले थप हवाई रुट दिन नमानेपछि विमानस्थलमा जहाज कताबाट अवतरण र उडान गर्ने भन्ने विषयमा प्राधिकरणले आन्तरिक छलफल सुरु गरेको छ ।
प्राधिकरणले नेपाल वायुसेवा निगमसहित केही एयरलाइन्सका प्रतिनिधिहरुसँग जहाज अवतरणको वैकल्पिक बाटोको विषयमा छलफल बढाएको छ । यद्यपी, प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने हवाई रुटको विषयमा कुनै समस्या नभएको बताउँदै आएका छन् ।
भारतले नेपाललाई सिमरा रुटमा मात्र उडान अनुमति दिएको छ । भैरहवाबाट ठूला जहाज उड्नेबित्तिकै भारतमा पुग्ने र त्यहाँ सेनाको ब्यारेक भएकाले सुरक्षाका दृष्टिले उडान गर्न अनुमति दिन नसकिने भारतीय पक्षको अडान छ । सेनाको ब्यारेकमाथिबाट विमान उड्ने भएकाले सुरक्षाका दृष्टिले अनुपयुक्त भएको भारतीय पक्षको तर्क छ ।
नयाँ रुट नपाए विमानस्थलबाट ठूला जहाज पुनः सिमरामा आएर जानुपर्नेछ, जसले गर्दा व्यावसायिक हिसाबले काठमाडौं आउनुभन्दा भैरहवा जान जहाजलाई महँगो पर्ने छ । जहाज गौतमबुद्धभन्दा काठमाडौंमा अवतरण गर्ने सम्भावना बढी हुन्छ ।
भैरवाबाट सिमरा पुग्न लामो दूरी हुने र हवाई ट्राफिक जाम बढ्ने भएका कारण गौतमबुद्ध विमानस्थल धेरै विमान कम्पनीको रोजाइमा नपर्ने अवस्था आउने संभावना छ । २०७४ असारमा प्राधिकरण र भारतीय नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौताअनुसार नेपाललाई तीनवटा हवाई रुट दिने सम्झौता गरेको थियो ।
तत्कालीन पर्यटनमन्त्री स्वर्गिय रवीन्द्र अधिकारी भारत भ्रमणमा रहेका बेला भारतीय उड्यनमन्त्री सुरेश प्रभाकर प्रभुसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा भारतीय पक्ष हवाई रुट दिन सकारात्मक रहेको बताइए पनि रुटको अनुमति कहिलेबाट दिने भन्ने विषय अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन ।
त्यति मात्र हाेइन, विमानस्थलबाट उडान सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को स्वीकृति लिन बाँकी छ । प्राधिकरणले भारतका साथै आईकाओबाट स्वीकृति पाएको छैन ।
विमानस्थलमा सीधा उडानका लागि हालसम्म म्यानमार एयरवेज, कतार एयरवेज ,श्रीलंकन एयरलाइन्स र फ्लाइ दुबई लगायतका वायुसेवा कम्पनीले चासो देखाइरहेको प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।