काठमाडौं । वेयटर बिनै खाना तथा खाजा अर्डर गर्न ‘सजिलो डाएन डटकम’ सञ्चालनमा आएको छ । नेपालमा पहिलो पटक होटल, रेस्टुराँ तथा रिसोर्टहरुमा सजिलो डाएन डिजिटल ई–मेन्यु सञ्चालनमा आएको छ । सजिलो डाएन होटल तथा रेस्टुराँका लागि उपलब्ध गराइएको एक डिजिटल क्युआर स्क्यानर मेन्यु हो ।
कोभिड महामारीलाई मध्यनजर गर्दै सामाजिक तथा भैतिक दूरी कायम गरी वेयटर नभई आफूले चाहेको खाना ई–मेन्युबाट अर्डर गर्न सकिन्छ । बैंकिङ, शिक्षा, बिमा, सपिङ सेन्टरलगायत ठाउँमा रकम भुक्तानीका लागि क्युआर स्क्यानर पहिलेदेखि नै प्रयोगमा आएको छ । तर, होटल तथा रेस्टुराँको मेन्यु स्क्यानर नेपालमा पहिलो प्रयोग हो ।
सजिलो डाएन डटकम अनुपम गोयल र रिसव जैनले सयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् । ‘झन्झट रहित छिटो सेवा तथा गुणस्तरिय सुविधा नै आजको आवश्यकता हो, सञ्चालक गोयलले भने, आजको दिनमा जस्ले छिटो झन्झट रहित सेवा तथा सुविधा प्रदान गर्दछ त्यो नै बजारमा उत्कृष्ट ठहरिन्छ, त्यसैले होटल, रेस्टुराँ तथा हस्पिटालिटी क्षेत्रमा मेन्यू अर्डरको लागि एउटा विकल्प हो ।’
होटल तथा रेस्टुराँमा खाना र नास्ताका लागि जाने ग्राहक एवं सर्भिस कम्पनीले डिजिटल क्युआर स्क्यानर मेन्यु प्रयोग गर्न सक्नेछन् । ग्राहकले होटलमा उपलब्ध मेन्युहरु आफ्नै मोबाइलमा देख्न र चाहेको परिकार अर्डर गर्न सक्नेछन् । साथै अर्डर मेन्युको मूल्यसमेत थाहा पाउन सकिने जनाएको छ ।
यस्तै ग्राहकले गरेको अर्डर सफ्टवयरको माध्यमबाट सिधै सर्भिस दिने कम्पनीको एडमिन र किचनमा पुग्छ । जसले गर्दा ग्राहकले वेटर पर्खनु नपर्ने र समयको बचत हुन्छ ।
उक्त सेवा प्रयोग गर्न चाहाने होटल तथा रेस्टुराँले वार्षिक मात्र ३ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । हाल राजधानीका १ सयभन्दा बढी होटल, रेस्टुराँ तथा पेपे पिज्जाका सबै शाखामा सो सेवा सञ्चालनमा आइसकेको छ ।