काठमाडौं । वाणिज्य बैंकहरुसँग पर्याप्त मात्रामा लगानी गर्न सक्ने पुँजी रहेको देखिएको छ । अहिले बैंकहरूको औसत कर्जा पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ७७.७२ प्रतिशत मात्रै पुग्नुले लगानीयोग्य रकम पर्याप्त मात्रामा रहेको देखिएको हो ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ८० प्रतिशतको सीसीडीको सीमालाई बढाएर ८५ प्रतिशत पुर्याएको थियो । तर, कुनै पनि बैंकहरूले ८५ प्रतिशत पुर्याएका छैनन् । आक्रामक रूपमा बजारमा लगानी बढाएका बैंकले पनि सीसीडी ७९ देखि ८० सम्म मात्रै पुर्याएका छन् । आक्रामक ऋण लगानी गर्ने बैंकसँग पनि अझै ५ प्रतिशत सीडीसीको सीमा बाँकी रहेको देखिन्छ ।
बैंकमा लगानीयोग्य रकमको अभाव हुन थालेको भन्ने गरिए पनि सीसीडीको दर हेर्दा त्यस्तो नभएको पाइएको हो । ‘लगानीयोग्य रकम अभाव हुनका लागि सीसीडी ८५ प्रतिशतसम्म पुगेको हुनुपर्छ,’ एक वाणिज्य बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृतले भने, ‘अहिले कुनै पनि बैंकले ८० प्रतिशत सीसीडी पुर्याएका छैनन्, भने पछि कसरी तरलता अभाव हुन्छ ।’
यसैगरी बैंकले ७५ देखि ७७ सम्म मात्रै सीसीडी पुर्याएको अवस्थामा बैंकको नाफामा भने गम्भीर संकुचन आउने बैंकरहरूको आँकलन छ । कोरोनाको जोखिम कायमै रहेकाले धेरैजसो बैंकले सुस्त गतिमा व्यवसायलाई अघि बढाएका छन् । भएभरको पैसा बैंकमा थुप्रियो भने त्यसले नाफामा असर गर्ने ती बैंकरको बुझाइ छ ।
नयाँ ऋणको मागका कमी आउनु र लगानीका अन्य सबै क्षेत्र शिथिल हुँदा सबै पैसा बैंकमा थुप्रिएको बैंकरहरूको बुझाइ छ । दोस्रो चरणको कोरोनाको सन्त्रास फैलिएकाले पनि कतिपय व्यवसायीले तत्कालका लागि ऋण लिन बन्द गरेका छन् ।
भारतमा दोस्रो चरणको कोरोना महामारीकै रूपमा फैलिन थालेको छ । त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । यस्तो अवस्थामा बैंकमा ऋण माग्न आउनेको संख्यामा कमी आएकाले पनि बैंकमा पैसा थन्किएको हो ।
यद्यपि, माघको पहिलो साता ऋणात्मक भएको कर्जा र निक्षेपको वृद्धि २ महिनाको अन्तरमा अर्थात चैत पहिलो साता र दोस्रो सातामा आइपुग्दा सन्तोषजनक वृद्धि भएको बैंकरहरू बताउँछन् । तैपनि बैंकसँग पर्याप्त मात्रामा तरलता छ ।
नेपाल बैंकर्स संघका अनुसार चैतको पहिलो सातासम्म वाणिज्य बैंकहरूको व्यवसाय कर्जा प्रवाह हप्तामै २३ अर्ब रुपैयाँले थपिएर कुल कर्जा ३४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको थियो । त्यस अवधिमा निक्षेप संकलन १४ अर्ब रुपैयाँले थप वृद्धि हुँदा कुल निक्षेप ३८ अर्ब ४० अर्ब रुपैयाँ संकलन भएको थियो ।
गत फागुनको दोस्रो साता पनि निक्षेप संकलन थप १० अर्बले वृद्धि हुँदा कर्जा प्रवाह भने २७ अर्बले वृद्धि भएको थियो । यस अवधिमा कुल कर्जा प्रवाह ३३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको थियो ।
चैत दोस्रो सातासम्म १० अर्ब रुपैयाँले कर्जा प्रवाहमा वृद्धि भएको छ । कुल ३८ खर्ब ५० अर्ब रुपैयाँको निक्षेप संकलन भएको नेपाल बैंकर्स संघले बताएको छ ।
फागुन पहिलो साता निक्षेप संकलन १३ अर्ब रुपैयाँले वृद्धि भई कुल ३७ खर्ब ९९ अर्ब पुगेको थियो भने समग्रमा वाणिज्य बैंकको व्यवसायमा सुधार भएर १८ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको थियो ।
माघको पहिलो साता संकुचन आए पनि त्यसपछिका प्रत्येक साता कर्जा प्रवाह वृद्धि हुँदै गएको थियो । माघ दोस्रो साता ११ अर्बले वृद्धि हुँदा कुल कर्जा प्रवाह ३२ खर्ब ४७ अर्ब र तेस्रो साता २१ अर्बले वृद्धि भई कुल कर्जा प्रवाह ३२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो ।