काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी ल्याउन आउँदो साउनसम्म ठेक्का हुने भएको छ ।
दुईवटै खोलाको पानी मेलम्चीमा फर्काउन आउँदो वर्षको साउनसम्म परियोजनाको सुरुङमार्ग र हेडवक्स निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) को आह्वान गर्ने योजना रहेको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता तथा सिनियर डिभिजन इन्जिनियर राजेन्द्रराज पन्तले क्यापिटल नेपाललाई जानकारी दिए ।
‘आउँदो आर्थिक वर्षको सुरुमै याङ्ग्री र लार्केको पानी फर्काउने गरी ठेक्का अघि बढाउन खोजेका छौं,’ उनले भने, ‘खासगरी, हेडवक्स र सुरुङमार्ग निर्माणका ठेक्का निकाल्ने योजना छ । अहिले पहुँचमार्ग निर्माणको काम भइरहेको छ ।’
अहिले मेलम्चीबाट याङ्ग्री र लार्केसम्म पुग्ने पहुँच मार्ग(एक्सेस रोड) निर्माणको काम धमाधम भइरहेको पन्तले जानकारी दिए । चालू आर्थिक वर्षभित्र पहुँचमार्ग निर्माणको काम सम्पन्न गरेर परियोजना निर्माणका लागि ठेक्का लगाउने तयारी भएको उनले बताए ।
मेलम्ची खोलादेखि याङ्ग्रीको हेडवक्ससम्म २५ किलोमिटर पहुँचमार्ग निर्माण भइरहेको छ । मेलम्ची बजारदेखि याङ्ग्रीसम्म पुग्ने सडक १५ किलोमिटर सडक विभागले बनाउँदैछ । बाँकी आयोजना पक्षले बनाउनुपर्ने १० किलोमिटर सडक निर्माणको ठेक्का लागिसकेको छ ।
परियोजना निर्माणका लागि लगानी मोडालिटीका विषयमा छलफल भइरहेको उनले जानकारी दिए । परियोजना निर्माणका लागि एसियाली विकास बैंक(एडीबी) सँग लगानी गर्न प्रतिबद्धता जनाए पनि सम्झौता भइसकेको छैन । ऋण सम्झौता सहयोगका लागि एडीबी र अर्थ मन्त्रालयसँग निरन्तर छलफल भइरहेको छ । एडीबीले ऋण सहयोग गर्न सकारात्मक रहेको जनाइएको छ ।
डिजाइनअनुसार २६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । काम सुरु भएको कम्तीमा ५ वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी सुन्दरीजलमा फर्काउने आयोजनाको लक्ष्य छ ।
मेलम्चीदेखि याङ्ग्रीसम्म ९ किलोमिटर र याङ्ग्रीदेखि लार्केसम्म २ किलोमिटर गरी कुल ११ किलोमिटर लामो सुरुङमार्ग निर्माण हुनेछ । दुईवटै खोलाबाट १७÷१७ करोड लिटर पानी मेलम्ची खोलामा फर्काउनेछ । लार्केबाट याङ्ग्रीसम्म आउने २ किलोमिटर लामो टनेल बन्नेछ ।
त्यहाँबाट लार्केकोदोस्रो आयोजना र मेलम्चीको समेत गरी १७ करोड लिटर गरी राजधानीमा ५१ करोड लिटर पाउने आपूर्ति हुने छ । पानी याङ्ग्रीमा मिसाएर दुईवटै खोलाको ३४ करोड लिटर पानी करिब ९ किलोमिटरको सुरुङमार्ग हुँदै मेलम्ची खोलामा फर्काइनेछ ।
दुईवटै खोलाको पानी अहिले निर्माण भएकै सुरुङमार्ग र पाइपलाइनमार्फत काठमाडौंको सुन्दरीजल प्रशोधन केन्द्रमा झारिनेछ । सुन्दरीजल प्रशोधन केन्द्रलाई क्षमता विस्तार गरी निर्माण गर्ने आयोजनाको तयारी छ ।
यता, याङ्ग्री र लार्केखोला क्षेत्रभित्रका जग्गाधनीलाई मुआब्जा दिन सुरु गरिसकिएको छ । यसअघि नै सूचनासमेत जारी गरी पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडामा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोटबिरुवा, बालीनाली, गोठटहराको मुआब्जा वितरण भइसकेको आयोजनाले जनाएको छ । अझै केही ठाउँमा बाँकी मुआब्जा वितरणको काम चालू आर्थिक वर्षको अन्त्यसम्म सक्ने लक्ष्य छ ।
स्पेनिस ‘इप्टिसा कन्सल्ट्यान्ट’ ले मेलम्चीको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्केको पानी फर्काउन आयोजनाको विस्तृत परियोजना
प्रतिवेदन(डीपीआर) निर्माण गरिसकेको छ । उक्त कम्पनी डिजटल डिजाइनसहितको प्रतिवेदन यसअघि नै मेलम्ची खानेपानी आयोजना विकास समितिलाई बुझाइसकेको छ ।
उक्त कम्पनीले बनाएको डीपीआर ‘रिम्भ्यू’ गरी परियोजना अघि बढाइने तयारी रहेको समितिका अध्यक्ष तिरेशकुमार खत्रीले बताए । परियोजना निर्माणका लागि आर्थिक स्रोतको सुनिश्चितता भएपछि ठेक्का प्रक्रिया जाने उनको भनाइ छ
परियोजना अघि बढाउन अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट हुन बाँकी छ । खासगरी, परियोजनाको हेडवक्स, टनेल र पानी प्रशोधन केन्द्रका लागि छुट्टाछ्ट्टै तीनवटा ठेक्का लगाइनेछ । मेलम्चीको दुई चरणको परियोजना पूरा भएमा मेलम्चीबाट अहिले ल्याइएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ ।