काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालक समितिको बैंठकले ६ वटा चिनियाँ जहाज भाडामा दिनका लागि टेण्डर आह्वानको निर्णय गरेको छ । भाडामा कसैले नलगेमा मात्र जहाज बिक्री गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै शुक्रबार बसेको निगम सञ्चालक समितिको बैंठकले तत्कालै भाडामा दिनका लागि टेण्डर आह्वान गर्ने निर्णय गरेको हो ।
निगमका एक सञ्चालकका अनुसार जहाज भाडामा दिँदा कति वर्षलाई दिने र कतिमा दिने भन्ने विषयमा केही साताभित्रमा टुंगोमा पुगी टेण्डर आह्वान हुनेछ । त्यसका लागि महाप्रवन्धक डिमप्रकाश पौडेल सहितको समितिले अध्ययन गरेर प्रतिवेदन सञ्चालक समितिलाई पेश गर्ने छ । समितिले बनाएको अध्ययन प्रतिवेदनका आधारमा जहाज भाडामा दिने र भाडामा कसैले नलगे बिक्रीका लागि टेण्डर आह्वान गर्ने निर्णय भएको बताइएको छ ।
लामो समयदेखि निगमलाई संकटमा पारेको सो जहाज भाडामा दिन बाटो अर्थले खुलाएको हो । चिनियाँ जहाज भाडामा लगाएपछि भने निगमले नयाँ जहाज खरिद गर्ने छ । त्यसका लागि अर्थ मन्त्रालयले ‘ग्रिन सिंग्नल’समेत दिइसकेको छ ।
महाप्रवन्धक पौडेलले तयार पारेको १० वर्षे व्यवसायिक योजनामा (बिजनेस प्लान) नयाँ जहाज खरिदका लागि प्रस्तावसमेत अर्थ मन्त्रालयमा पेश भइसकेको छ ।
जहाज नउडाउँदाभन्दा उडाउँदा घाटा भएको भन्दै सञ्चालक समितिले गत साउन १५ गतेबाट सबै चिनियाँ जहाज ग्राउण्डेड गरी नचलाउने निर्णय गरेको थियो ।
सरकारले दुर्गम तथा सुगम क्षेत्रमा उडान गर्न भन्दै चीनबाट अनुदान र सरल ऋणमा खरिद गरिएको थियो । सञ्चालक समितिले चिनियाँ जहाजबाट ६ वर्षमा पौने २ अर्ब रुपैयाँ घाटा खानुपरेको भन्दै बिक्री गर्ने निर्णय गरेको हो ।
निगमले पटक–पटक गरी ५६ सिट क्षमतामा एमए ६० दुईथान र १९ सिट क्षमताका वाई १२ ई दुईथान जहाज खरिद गरेको थियो । एकथान एमए ६० र एकथान वाई १२ ई जहाजबाहेक अन्यले हालसम्म उडान नै भरेका छैनन् ।
२०७१ देखि ०७४ सम्ममा गरी निगमले ६ अर्ब ६७ करोडमा ६ थान जहाज खरिद गरेको थियो । जसमा २ अर्ब ९४ लाख अनुदानका दुई जहाज प्रयोग भएका थिए । बाँकी ३ अर्ब ७२ करोड रुपैयाँ भने १.५ प्रतिशत ब्याजमा चीनकै निर्यात आयात (एक्जिम) बैंकबाट ऋणमा ४ थान जहाज खरिद गरिएको थियो ।
तर, अहिले सो जहाजको मूल्य घटेको छ । व्यवस्थापनले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउँदा निगमको सम्पत्तिअन्तर्गतको चिनियाँ जहाजको मूल्य ३ अर्ब ८१ करोड १० रुपैयाँ मात्रै मूल्यांकन गरिएको छ ।
यी जहाजको कात्तिक २०७७ देखि किस्ता तिर्न सुरु गर्नुपर्ने शर्त छ । तर, चिनियाँ जहाज उडान सुरु गरेको ७ वर्षसम्म पनि निगमले यी जहाजबाट निरन्तर घाटा खाँदै आएको छ ।
यी जहाजको आगामी २०७७ कात्तिक मसान्तमा पहिलो अर्धवार्षिक किस्ता ८४ लाख १५ हजार २२५ आरएमबी बुझाउनुपर्छ । यस्तो किस्ता २०९० वैशाखसम्म बुझाउने शर्त सम्झौतामा उल्लेख छ । निगमले सन् २०१४ मा एक एमए ६० र तीन वाई १२ का जहाज २१ करोड ८७ लाख ९५ हजार ८५० आरएमबीमा खरिद गरेको हो ।