काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मङ्सिरभित्रमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा इँट राखेर भए पनि शिलान्यास गर्ने वातावरण मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारीलाई निर्देशन दिएका छन् ।
‘म यहाँ फोटो टाँस्न मात्र मन्त्री भएर आएको होइन, मेरो चर्चा सांसद हुँदा पनि थियो,’ मन्त्री भट्टराईले भने, ‘निजगढको शिलान्यास जसरी भए पनि गर्नुपर्छ, त्यसका लागि आवश्यक काम अघि बढाउनू ।’
राष्ट्रिय गौरवका आयोजनाहरु विस्तारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष चासो दिएको सन्दर्भ जोड्दै रोकिएका आयोजनाहरु धमाधम अगाडि बढाउने र निर्माणको क्रममा रहेकालाई निर्धारित समयअगावै सकिने गरी काम गर्न उनले निर्देशन दिए ।
उनले विमानस्थल निर्माणका लागि भएका बाधाहरु फुकाउन मन्त्रीले गर्नुपर्ने काम के हो, मन्त्रालयले के गर्नुपर्छ र क्यानले के गर्नुपर्छ भन्ने विषयहरु टिपोट गरी द्रुत गतिमा तयारी थाल्न आन्तरिक निर्देशन दिए ।
निजगढ विमानस्थल निर्माणको चर्चा सुरु भएको २५ वर्ष पुगिसकेको छ । तर पहिलो पटक मन्त्री भट्टराईले शिलान्यासका लागि चासो राखेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै केही वातावरणविद्हरुले तीव्र विरोध गरेपछि तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारी पछि हटेका थिए ।
पछि संसद्को अन्तर्राष्ट्रिय समितिले तत्काल काम अघि बढाउन निर्देशन दिएको थियो । तर गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परेर मन्त्री अधिकारीको निधन भएपछि निजगढको काम अलपत्र परेको हो ।
निजगढलाई छिमेकका २२ मुलुकको ट्रान्जिट बनाउने गरी तयारी गरिएको छ । विमानस्थलको कुल क्षेत्रफल ८ हजार हेक्टर भए पनि विमानस्थलका लागि २ हजार हेक्टर मात्रै प्रयोग गरिने जनाएको छ ।
विमानस्थलमा कुल तीन हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग निर्माण गर्ने सरकारको योजना छ । वार्षिक रुपमा ६ करोड यात्रुको चाप धान्ने गरी विमानस्थल निर्माण तयारी छ ।