काठमाडौं । मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्रका ८० हजार धारामा आइतबारदेखि वितरण हुन भएको छ । मेलम्चीबाट पहिलो चरणमा आपूर्ति हुने १७ करोड लिटर पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) ले तयारी पूरा गरेको छ ।
उपत्यकाभित्र निर्माण भएका नयाँ र पुराना गरी ८० हजार धारामा पानी वितरण हुने केयूकेयलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यले क्यापिटल नेपाललाई बताए । उनका अनुसार, अहिले मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट विभिन्न ४ वटा ठूला पोखरीहरुमा पानी पुर्याउने काम भइरहेको छ ।
तत्काल ४ वटा ठूला पोखरीमा पानी भरिनेछ । महाकांलचौर, अनामनगर, मीनभवन र खुमल्टारमा ठूला पोखरी निर्माण भइसकेका छन । ती पोखरीबाट पुरानै पाइपलाइनमार्फत उपभोक्ताका धारामा पानी वितरण हुनेछ ।
चैत १५ गते आइतबार मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट ४ ओटा पोखरी भरेर उपभोक्ताका धारामा पठाउने केयूकेएलको तयारी छ ।४ वटै पोखरीमा पानी भरिनासाथै उपभोक्ताका धारामा वितरणको तयारी भइरहेको शाक्यले बताए ।
यो पनि हेर्नुहोस
३१ अर्ब खर्चेर मेलम्चीको पानी काठमाडौंमा, अब दैनिक धारामा पानी
पानी वितरणका लागि केयूकेएलकातर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको उनले बताए । तत्काल ४ वटा पोखरीबाट पाटन क्षेत्रका केही भाग, महाकांलचौर, बानेश्वर, चाबहिल, न्यूरोड, अनामनगर, मैतीदेवी, मीनभवन, थापाथली लगायतका क्षेत्रमा पानी वितरण हुनेछ ।
चरणवद्ध रुपमा पानीको मात्रा थप्दै लगिने पाइप परीक्षण गर्दै वितरण हुने शाक्यले बताए । सुरुमा परीक्षणको रुपमा उपभोक्ताका धारामा पानी पठाइने र पुनः सुरुङमार्ग खाली गरेर स्थायी रुपमा पानी वितरण हुने उनले बताए । ९ दिनमा मुस्किलले एकपटक धारामा पानी दिँदै आएको केयूकेएलले मेलम्चीको पानी थपिएपछि दैनिक एक पटक धारामा दिनेछ ।
एउटा धाराबाट कम्तीमा १० जना उपभोक्ताले पानी उपयोग गर्ने केयूकेएलको अनुमान छ । यस हिसावले ८० हजार धाराबाट ८ लाख भन्दा बढी उपत्यकाबासी लाभान्वित हुनेछन् ।
यो पनि हेर्नुहोस
मेलम्ची आए पनि उपत्यकामा १८ करोड लिटर पानी अपुग, वितरणको जुर्यो साइत
अहिले केयूकेएलले उपत्यकामा ८ करोड लिटर पानी वितरण गर्दै आएको छ । मेलम्चीको पहिलो चरणमा १७ करोड लिटर पानी थपिदा उपत्यकाबासीलाई २५ करोड लिटर हुनेछ ।
काठमाडौं उपत्यकामा हाल ४३ करोड लिटर पानीको माग रहेको केयूकेएल बताउँछ । तत्काल २४ सै घण्टा पानी वितरण गर्न सक्ने अवस्था अझै बन्न सकेको छैन । धारामा आउने मेलम्चीको पानी उपभोक्ताले कतिको सदुपयोग गर्छन भन्ने कुरामा पनि पानी पुग्ने÷नपुग्ने कुराको भर पर्ने उनको भनाई छ ।
उपभोक्ताले कमसेकम आफुलाई चाहिने अवस्थामा मात्र पानीको उपयोग गर्न केयूकेएलले आग्रह गरेको छ । अनावश्यक रुपमा पानी खेर नफाल्न केयूकेएलको उपभोक्तालाई आग्रह छ ।
मेलम्चीको पानी पुरानै पाइपलाइन र धाराबाट वितरण हुँदा आउने सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न केयूकेएलले जनशक्ति तयारी अवस्थामा राखेको छ ।
खासगरी पुराना पाइपबाट पानी लिकेज हुने संभावना भएकाले तत्काल मर्मत गर्न अनुगमन टोली र ‘र्यापिड रेस्पोन्स टिम’ खटाइएको शाक्यले जानकारी दिए ।
सुरुमा चक्रपथभित्रका अधिकांश क्षेत्रमा पानी वितरण हुनेछ । नयाँ पाइपलाईनबाट पानी परीक्षणको काम पनि सँगसँगै अघि बढ्नेछ । मेलम्ची खानेपानी विकास समिति आयोजना निर्देशनालयले त्यसको तयारी अघि बढाएको छ ।
चक्रपथ बाहिरका उपभोक्तालाई पनि पानी वितरण गर्न पाइपको परीक्षण हुनेछ । कम्तीमा एक वर्षभित्र नयाँ पाइपलाइनमार्फत सबैजसो उपभोक्ताका धारामा पानी वितरण हुने निर्देशनालयले जनाएको छ ।