काठमाडौं । शिवपुरीको चिसो हावासँग सिधै स्पर्श गर्दै बिट्रिस शैलीको दरबारमा बसेर मन बहलाउनु आफैंमा आनन्द हो । काठमाडौं उपत्यकाभित्र मल्लकालीनदेखि आधुनिक शैलीका दरबारहरू प्रशस्त छन् । राणाहरूले बनाएका पुराना दरबारमा त ठूला–ठूला तारे होटल नै बनेका छन् । तर, ती सर्वसाधारणका लागि अलि पहुँच बाहिर छ ।
रिङ्गरोडभित्र बढ्दै गएको कोलाहल, उकुसमुकुस, धुलो धुवाँबाट दिक्क भएका मान्छेहरू अचेल रिङ्गरोड बाहिरका होटल र रेष्टुराँलाई आफ्नो गन्तव्य बनाउन थालेपछि रिङ्गरोड र मुख्य सहरबाहिर राम्रा, आकर्षक र ठूला लगानीमा होटल, रेष्टुराँ खुल्ने क्रम पनि बढिरहेको छ ।
शान्त वातावरणमा शिवपुरी छेउछाउ टोखा ग्राण्डी अस्पताल नजिकै ६ रोपनी क्षेत्रफलमा खुलेको ड्रिम प्यालेसलाई धेरैले गन्तव्य बनाउन थालेका छन् ।
खुला ठाउँ, स्वच्छ हावा त छँदै छ, त्यसैमाथि सेतो कलरमा बुट्टे शैलीमा बनाइएको दरबारले मिनी ताजमहलको झल्को दिन्छ । रेष्टुराँसँगै रहेको स्वीमिङ पुलले अझ बढी आकर्षण देखाउँछ । दिनमा देखिएको चमकभन्दा साँझ र रातिमा ‘कलरफुल लाइटमा’ देखिएको चमकले त्यहाँ पुग्ने जो कोहीलाई मन लोभ्याउँछ ।
सहरको यो कोलाहलबाट केही समय टाढा गएर बिताउन चाहनेहरूका लागि अहिले ड्रिम प्यालेस आकर्षणको केन्द्र नै बनेको हो । ग्राण्डी टावर र विभिन्न ठूला अपार्टमेन्ट र हाउजिङहरूका हाइराइज बिल्डिङकाबीच रहेको ड्रिम प्यालेसलले त्यस क्षेत्रकै सुन्दरता बढाएको छ ।
गर्मीमा स्वीमिङ पुलको मज्जा लिन सकिने र जाडोमा घामको न्यानो लिन खुला ठाउँ रहेकाले पनि त्यहाँ पुग्ने जो कोहीको मन नलोभिएला बन्न सकिन्न ।
त्यहाँ पुग्दा गाडीको आवाज सुनिँदैन, मान्छेको कोलाहल छैन भने धुवाँ र धुलो छैन । मात्र, छ शान्त वातावरण । शान्तिको प्रतीक झल्कने सेतो रड्ड पोतिएको दरबार मात्र हेरिरहँदा पनि धेरैको मनमा आनन्दित छाउँछ । नीलो स्वीमिङ पुल र बुट्टेदार कलात्मक शैलीले झनै मन लोभ्याउँछ । त्यहाँ पुग्ने जो कोही पनि सुन्दरतामा झुम्ने गरेका छन् । त्यसैले धेरैले भन्ने गरेका छन्, सपनाको दरबार ।
रिसोर्टसहितको दरबारमै रम्न र रमाउनका लागि दैनिकजसो मानिसहरू त्यहाँ पुग्ने गरेका छन् । विभिन्न क्षेत्रका सेलिबे्रटिहदेखि कर्पोरेट व्यक्तिहरूको समेत रोजाइ त्यही पर्न थालेको छ । उपत्यका बाहिर जाँदा धेरै समय लाग्ने भएकाले पनि पछिल्लो समय धेरै मानिसहरूको बिदा मनाउने थलो ड्रिम प्यालेस बनिरहेको छ ।
ड्रिम प्यालेसलाई स्थानीय वीरकृष्ण लवटले सञ्चालनमा ल्याएका हुन् । स्थानीय लवटले आफ्नो पुख्र्यौली ६ रोपनी क्षेत्रफलको जग्गामा ६ करोड रुपैयाँ बढी लगानीमा संरचना निर्माण गरी रिसोर्ट शैलीमा रेष्टुराँ सञ्चालन गरेका छन् । ड्रिम प्यालेसमा ४ वटा कोठा छन् । रेष्टुराँमै खाएर बस्न चाहनेहरूका लागि ४ वटा कोठा बनाइएको लवटले बताए ।
१५ वर्ष सांगीतिक क्षेत्रमा लागेका लवट गायक हुन् । आफ्नो रुचिअनुसार सांगीतिक क्षेत्रमा लागेर म्युजिक कम्पनी राघ पनि सञ्चालन गरिसकेका लवटले क्यासेट र सिडीको बिजनेस डाउन भएपछि हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेका हुन् ।
ड्रिम प्यालेसमा कोभिडको त्रासकाबीच पनि धेरै मान्छेहरू आएको उनी बताउँछन् । ‘लकडाउन हटेपछि धेरै जना आउनु भयो, अहिले त काठमाडौं बाहिरबाट पनि ग्राहकहरू आउने गरेका छन्,’ उनले भने ।
अडियो र सिडी बिक्री हुन छोडेपछि केही समय घरजग्गा व्यवसायमा लागेका लवटले दीर्घकालीन व्यवसायको रुपमा होटललाई लिएर काम अगाडि बढाएको बताउँछन् ।
२०७६ चैत मै निर्माण सम्पन्न गरेको ड्रिम प्यालेस सञ्चालन भने गत भदौबाट मात्र भएको हो । लकडाउनका कारण होटलहरू सञ्चालन गर्न नमिल्ने भएकाले केही समय त्यतिकै बसेको उनले बताए । ‘धेरैको अनुरोधपछि भने स्वास्थ्य प्रोटोकल अपनाएर सञ्चालनमा ल्याइएको हो,’ उनले भने ।
ड्रिम प्यालेस भित्रै फिटनेस क्लबसमेत छ । त्यहाँ जिम हल, स्वीमिङ पुल, साउना, स्ट्रिम, स्पा, ज्याकुजीको पनि सुविधा रहेको छ ।
लवटले अझै त्यहाँभित्र संरचना थप गर्न लागिरहेका छन् । ४ वटा कोठामात्र रहेको ड्रिम प्यालेसमा नयाँ भवनमार्फत २८ वटा कोठाको होटल सञ्चालनमा ल्याउँदै छन् ।
डिलक्स रुमसहित सो भवन निर्माण भइरहेको छ । पछि तारे होटलसम्मको सोच बनाएको उनी बताउँछन् । रेष्टुराँमा नेपाली अर्गानिक खाना र खाजाहरू उपलब्ध छ । अहिले त्यहाँ २ सय जनासम्मको पार्टी दिन मिल्ने ब्याङ्केट सेवा उपलब्ध छ । त्यहाँ सबैभन्दा भीड नै पार्टी आयोजना गर्नेहरूको लाग्ने गरेको छ ।
ड्रिम प्यालेस अहिले विशेष गरेर टिकटकमा भाइरल भइरहेको छ । कतिपय त त्यहाँ भिडियो खिचेर टिकटकमा हाल्नकै लागि पनि पुग्ने गरेका छन् ।
रिङरोड सामाखुसी, बसुन्धाराबाट होटलमा गाडी र मोटरसाइकलमा १० देखि १५ मिनेटभित्रै पुग्न सकिन्छ । यहाँ आउने पाहुनाहरू भने देशभरिकै रहेको छ ।
त्यहाँ फिल्म र म्युजिक भिडियोहरूसमेत सुटिङ हुने गरेकाले पनि चर्चामा आउनलाई थप सहज भएको छ । त्यति मात्र होइन टिकटक स्टारहरूसमेत भिडियो लिनका लागि जाने गरेका छन् ।
टिकटकमै भिडियो देखेर अहिले होटल मात्र हेर्नकै लागि चितवन, पोखरा, भैरहवा र वीरगन्जबाट समेत ग्राहकहरू आएर एक रात बसेको लवट बताउँछन् ।
तस्वीर: नाजिया श्रेष्ठ