काठमाडौं । पुराना क्याप्टेन श्रवण रिजालको अस्वाभाविक व्यवहारका कारण अपमानित भएर नबस्ने भन्दै नेपाल वायुसेवा निगम (एनएसी)का अन्य पाइलटहरूले धमाधम जागिर छोड्न थालेका छन् । रिजालको छुद्र व्यवहार र अहमताकै कारण एनएसीबाट केही समययता चार जना पाइलटले राजीनामा दिएको बताइएको छ ।
रिजालको अभद्र व्यवहारलाई कारण बनाएर क्याप्टेन आरपी ढकाल, प्रदीप श्रेष्ठ, प्रशान्त गुरुङ र उत्सवजीजँग शाहीले एनएसीको सेवाबाट बिदा लिएका छन् । रिजालको अभद्र व्यवहार हालसालैदेखि देखाउन थालेका भने होइनन् । २५ वर्षदेखि निगममा क्रियाशील रिजालबाट बेला–बेलामा नयाँ पाइलटले अभद्र व्यवहार सहनुपर्छ । ‘रिजालको अभद्र व्यवहार सहने व्यक्ति निगममा रहन्छन्, नभए उनीहरू सेवा छोड्न बाध्य हुन्छन्,’ स्रोतले भन्यो ।
याेपनि पढ्नुस्,निगमका झगडालु क्याप्टेन श्रवण, जसले प्रचलनलाई लत्याउँछन्
एनएसी छाडेका मध्ये क्याप्टेन श्रेष्ठ अहिले इथोपियन एयरलाइन्सको बोईङ ७८७ मा ‘स्ट्रक्चर पाइलट’ छन् भने ढकाल हिमालय एयरलाइन्समा छन् । उता क्याप्टेन गुरुङ भने अमेरिकामा छन् । केही साताअघि मात्र कतार एयरवेजबाट आएका क्याप्टेन शाहीले नयाँ गन्तव्य खोजिसकेका छैनन् ।
एक दशक कतार एयरवेजमा बिताएका क्याप्टेन शाही भने हालै एनएसी आएका थिए । तर, सुपर न्यूमेरी उडान गर्नुअघिको ब्रिफिङमा रिजालले शाहीलाई दुव्र्यवहार गरेका थिए । वरिष्ठ र कनिष्ठको विषयलाई लिएर रिजालले आफूलाई अभद्र व्यवहार गरेको भन्दै शाही निगमबाट बाहिरिएका छन् ।
निगमले नेपाली पाइलटहरू नभएर विदेशी पाइलटहरूलाई महँगो शुल्कमा लिइरहेको छ । तर, बेला–बेलामा आउने नेपाली पाइलटलाई रिजालले विभिन्न बहानामा दुव्र्यबहार गर्ने गर्दा धेरै समय नबस्ने गरेको स्रोतको दाबी छ । ३३० वाइड बडी जहाज सञ्चालनका लागि ७ जना पाइलट र ७ जना को–पाइलट आवश्यक पर्छ । हाल एनएसीसँग २ वटा ३३० वाइड बडी जहाज छ । त्यसमा काम गर्न नेपाली ६ जना पाइलट र ११ जना को–पाइलट छन् ।
विगतमा विदेशी पाइलट र को–पाइलट रहने व्यवस्था भएकोमा हाल भने कोभिड–१९ का कारण सहज व्यावसायिक वातावरण नभएको भन्दै एनएसीले ३ जना मात्र विदेशी पाइलट राखेको छ । विदेशी पाइलटले प्रतिमहिना १० लाख रुपैयाँभन्दा बढी तलब तथा सुविधा लिन्छन् भने नेपाली पाइलटले २ लाख रुपैयाँ हाराहारीमा काम गर्न बाध्य छन् ।
याे पनि पढ्नुस, नयाँ र पुराना भन्दै दुई क्याप्टेनबीच भनाभन, सुपर न्यूमेरी उडानमा शाहीलाई लगिएन
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले भने क्याप्टेन शाही र रिजालबीचको झगडाको विषयमा अध्ययन भइरहेको बताए । ‘योग्य मान्छेहरू निगममा आउन र टिक्न नसक्ने वा विदेशमा काम गरेका नेपालीहरू फर्किर काम गर्न नदिने वातावरण बनिरहेको छ, महाप्रवन्धक पौडेलले भने, ‘यसले निगमलाई सही दिशातर्फ लाँदैन । निगम व्यवस्थापनले अनुसन्धान गरी आवश्यक निर्णय लिन्छ ।’
निगममा योग्य पाइलट टिक्नै नदिने हो कि वा नटिक्ने हुन् भनेर अध्ययन भइरहेको भन्दै पौडेलले भने, ‘निगममा टिक्न नसकेकाहरू अहिले विदेशमा गएर राम्रो पोजिसनमा काम गरेका छन् । यसले निगमको बेइज्जतसमेत भएको छ ।’ रिजाल र शाहीबीचको घटना बाहिर आउनु चिन्ताजनक भएको भन्दै महाप्रवन्धक पौडेलले सही निकास निकाल्न प्रयत्न गरिरहेको बताए ।